सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिस्तरीय बरियता दिइएका राजदूत पौडेललाई १५ दिन भित्र नेपाल आउन समय दिएको एक मन्त्रीले जानकारी दिए।
कोभिड-१९ भाइरसको महामारीसँग जुधिरहेको उत्तरी छिमेकी चीनबाट सरकारले राजदूतलाई किन फिर्ता बोलाउन लागेको भन्ने खुलिसकेको छैन।
पूर्वमुख्यसचिव समेत रहेका राजदूत पौडेलको नाम यसअघि बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा जोडिएको थियो। सो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग इन्टरनेटबाट बयान पनि लिएको थियो।
पौडेलको ठाउँमा पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएर बेइजिङ पठाउने तयारी गरिएको बुझिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग 'तपाईंले महेन्द्रजीसँग कुरा गर्नुभयो' भनेर सोधेका थिए। ज्ञवालीले केही दिनअघि कुरा भएको जवाफ दिएपछि प्रधानमन्त्रीले उनलाई फेरि कुरा गर्न भनेको एक मन्त्रीले बताए।
आजको मन्त्रिपरिषद् बैठकले सरकारका सचिवहरूको सरूवा गरेको छ। काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका सचिव केदार न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएइको छ। महानगरमा एकनारायण अर्याललाई पठाइएको छ। अर्याल आइतबार मात्रै सचिवमा बढुवा भएका हुन्।
भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरिएको छ भने संघीय मामिलाका यादवप्रसाद कोइराला स्वास्थ्य मन्त्रालय सरूवा भएका छन्। स्वास्थ्यका खगराज बराल उपराष्ट्रपति कार्यालयमा सरूवा भएको एक मन्त्रीले सेतोपाटीलाई बताए। त्यस्तै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय सरुवा भएकी छन् भने महिला मन्त्रालयमा कार्यरत सचिव चन्द्रकुमार घिमिरे उद्योगमा सरूवा भएका छन्।
मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले आइतबार साँझ आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बोलाएका थिए।