प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन्।
त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन्। गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन।
यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन्। ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन्।
अहिले मिर्गौला दिन लागेकी भान्जीको उमेर खुलाइएको छैन।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। आउने बुधबार उनको मिर्गौला प्रत्यारोपण हुने छ। यसबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए।
गत साता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने बताएका थिए।
‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’
उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७-१८ घन्टा काम गर्ने गरेको दाबी गरे।
‘म १७-१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने।
यो पनि पढ्नुस्:
कसरी हुन्छ मिर्गौला प्रत्यारोपण? (भिडिओ)