सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले बुधबार एउटा निर्णय गर्यो- पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने।
प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त निर्णय बालुवाटारमा उपस्थित पत्रकारहरूलाई सुनाए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन एक हप्ता मात्र बाँकी रहेका बेला धेरैले गौतमलाई खतिवडाको ठाउँमा पठाउन लागिएको बुझे।
सचिवालय निर्णय सार्वजनिक भएको केही घन्टा नबित्दै वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे सचिवालयभित्रै असन्तुष्टि रहेको कुरा बाहिर आयो। सबैभन्दा ठूलो असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओलीको देखियो।
ओलीनिकट नेताहरूले सचिवालयको आजको निर्णय वामदेवलाई राष्ट्रिय सभामा लैजाने सैद्धान्तिक निर्णयमात्र भएको र त्यसको कार्यान्वयन तत्काल नहुने रूप ब्याख्या गरे।
‘सैद्धान्तिक निर्णय भएको हो। उहाँलाई कहिले राष्ट्रिय सभामा लैजाने भन्ने अहिले टुंगो छैन,’ ओलीनिकट एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
सचिवालयको निर्णयबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएका छन्।
स्रोतका अनुसार अहिले दुई नेताबीच कुराकानी भइरहेको छ।
गत शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थासहित संविधान संशोधन गर्न नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो।
उक्त कार्यदल आजको सचिवालय बैठकले भंग गरिदिएको छ।