नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्व. गिरिजाबाबुलाई नेकपा अध्यक्ष प्रचण्डले ढाल बनाउन खोजेको आरोप लगाएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन दाङले सोमबार घोराहीमा आयोजना गरेको ‘शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठिलाई सम्वोधन गर्दै उनले संक्रमणकालीन न्याय अझैं पनि टुङ्गोमा नपुगेकाले प्रचण्ड डराएर स्व. गिरिजाबाबुलाई ढाल बनाउन खोजेको आरोप लगाए।
प्रचण्ड र स्व.गिरिजाबाबुको बीचमा भएको पहिलो भेटघाट बाहेक आफू निरन्तर सबै भेटघाट र फोन वार्तामा सहभागी भएको उल्लेख गर्दै नेता कोइरालाले भने ‘दिल्ली होस् या काठमाडौंमा म स्वयम् उपस्थित हुन्थेँ, गिरिजाबाबुले कहिलै पनि प्रचण्डले बोलेको कुरा भन्नुभएको थिएन।’
संक्रमणकालीन न्याय, सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता नागरिक सम्वन्धीका विषय अहिले पनि नसकिएकाले प्रचण्ड डराएको उनको आरोप छ।
‘प्रचण्डले जुन कुरा बोल्नु भो त्यो दुस्साहस हो भन्छु म, डर हो’ कोइरालाले भने।
दुई दिन पहिले क्यानाडाका सभामुख नेपाल आउँदा नेपालका सभामुखलाई नभेटेको प्रसंग उल्लेख गर्दै नेता कोइरालाले भने ‘उहाँले किन भेट्नु भएन भने अहिलेको सभामुखको द्वन्द्वकालीन मुद्दा अदालतमा छ।’