सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको टिप्पणी गरेका छन्।
नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभाका सदस्यलाई समेत प्रधानमन्त्री बन्न बाटो खुल्नेगरी बनाएको भनिएको कार्यदलमा नेम्वाङलाई सदस्य तोकिएको थियो।
नेकपाको सचिवालय बैठकले पूर्व प्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा नेम्वाङ र खिमलाल देवकोटा भएको संविधान संशोधन कार्यदल बनाएको थियो। तर कार्यदल बनाएको विषय बाहिरिए लगत्तै आलोचना भएपछि नेकपाका महासचिव विष्णु पौडेलले त्यस्तो कुनै कार्यदल नै नबनेको जिकिर गर्दै ढाकछोपको प्रयास गरेका थिए।
तर कार्यदलको संयोजक तोकिएका नेता नेपालले सोमबार बिहान नेम्वाङ र देवकोटालाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। नेता नेम्वाङले कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले आफू सहभागि भएको बताएका छन्।
आफूले पार्टीका वरिष्ठ नेता नेपालसँग संविधान संशोधनको विषयमा पार्टीले निर्णय गरेको विश्वास नलागेको बताएको उनले उल्लेख गरे।
'संविधान संशोधन जिम्मेवारीपूर्वक हुनुपर्छ। आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ, व्यक्तिगत कुरा होइन', नेम्वाङले भने, 'समाजवादी पार्टी र राजपाले हामीसँग कुरा गर्दा हामीले आवश्यकता र औचित्य स्थापित भएको ठानिएन।'
आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने मत आफूले राखेको नेम्वाङले बताए। 'संविधान संशोधन तर्फ अगाडि बढ्ने भनेको पारदर्शी ढंगले देश र जनताले थाहा पाउनेगरी हो', नेम्वाङले भने, 'तर अहिले जुन ढंगले कुरा आएको छ त्यस्तो काम पार्टीबाट भयो भन्ने लाग्दैन। यो प्रक्रिया होइन होला। यस्तो प्रक्रिया कँही कतै सोचाई पनि छ भने सच्याइहालौँ भनेर नेताहरुलाई भनिदिनुहोला भनेको छु।'
नेम्वाङले आफ्नो कुरा सुनेपछि माधव नेापल हाँसेको र टाउको हल्लाएको बताए।