आइतबार आफ्नो ६९ औं जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मस्थान तेह्रथुम-आठराई जाँदैछन्।
जन्मदिन मनाउन प्रम ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ।
प्रम ओलीले त्यहाँ एक स्थानीय बाटोको शिलान्यास गर्नुको साथै र नेपाल बैंकको उद्घाटन गर्नेछन्।
सेतोपाटीसँग कुरा गर्दै आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपा देवी कन्दङवाले प्रम ओलीबाट सुकेपोखरी, पोखरे मावि, प्रणामी मावि हुँदै ढुङ्गे साँघु जाने ९ किलोमिटर लामो बाटोको शिलान्यास र दन्वद्का कारण बन्द भएको नेपाल बैंकको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्।
गाउँपालिकाले फागुन ६ गते आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको आफ्नो सूचनामा उल्लेख गरेको छ।
उसले सूचनामा प्रम ओली उपस्थित हुने कार्यक्रममा कर्मचारी र विद्यालयका शिक्षकहरूलाई तोकिएको पोशाकमा उपस्थित हुन भनेको छ।
प्रधानमन्त्री ओली अहिले बिहान ९ बजे त्यता जाँदैछन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकर सूर्य थापाले सेतोपाटीसँग कुरा गर्दै प्रम ओली जन्मदिनको संयोग पारेर तेह्रथुम, आठराई जान लागेको बताए। त्यसपछि प्रम ओली ताप्लेजुङ जाने कार्यक्रम रहेको जानकारी पनि थापाले दिएका छन्।
ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।