प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चितवनस्थित माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेलको अनशनमा ऐक्यवद्धता जनाएको छ।
वडाध्यक्ष पौडेल फागुन ७ गतेदेखि अनशनमा छन्।
शनिबार विज्ञप्ति निकालेर कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको आवाज बोकेर माडी नगरबासीका हकहितमा ७ बुँदे मागसहित आमरण अनसन बसेकोमा ऐक्यवद्धता जनाउने उल्लेख गरेका छन्।
‘राष्ट्र विकासका लागि जनप्रतिनिधि स्वयं नै आमरण अनसन बस्नु पर्ने वाध्यता सृजना हुनु वर्तमान सरकार देश विकास र जनहितकारी कार्यमा असक्षम भएको पुष्टि भएको छ,’ खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्ष एवं विकासका लागि बस्नु भएको आमरण अनसन प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली कांग्रेस संसदीय दल ऐक्यबद्धता जनाउँदछ।’
आमरण अनसनको चौथौ दिन वितिसक्दा पनि स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासिन हुनु दुःखद पक्ष भएको कांग्रेसले जनाएको छ।
‘माडीवासीको तर्फबाट अनसनरत रहुन भएका जनप्रतिनिधि पौडेलको दिनानुदिन स्वास्थ्य स्थिति समेत नाजुक हुँदै गएको छ। तसर्थ उहाँले राख्नु भएका जायज मागलाई तत्काल वार्ताद्वारा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरी आमरण अनसनमा बस्नु भएका पौडेलको अनसन अन्त्य गरी उहाँको जीवन रक्षा गर्न स्थानीय र संघीय सरकार एवं सम्बद्ध पक्ष सँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ खाँणले भनेका छन्।