सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको वाग्मती प्रदेश इन्चार्ज एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले अहिलेकै तरिकारले चले मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बताएकी छन्।
सेतोपाटीसँग कुरा गर्दै शाक्यले पार्टीको प्रदेश कमिटीसँग समन्वय नगरी अगाडि बढ्न खोजे त्यसको परिणामको जिम्मवार पनि पौडेलले नै हुने चेतावनी दिएकी हुन्।
‘मुख्यमन्त्री अहिलेको जसरी नै चलिरहनुभयो भने उहाँलाई अप्ठेरो पर्छ। कसैले पनि परिस्थितिको जिम्मा लिन सक्दैन। मैले त झनै सक्दिनँ,’ शाक्यले भनिन्,‘उहाँलाई पर्ने अप्ठेरो भनेको अविश्वासको प्रस्तावसम्म आउन सक्छ। उहाँको कार्यशैलीमा साथीहरूले बारम्बार प्रश्न उठाइरहनुभएको छ।’
पौडेलको व्यवहारबाट केही सांसदबाहेक अरू खुसी हुन नसेकको शाक्यको दाबी छ।
एकातिर मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका सांसदलाई न्याय दिन नसकेको र अर्कातिर सरकारको काम पनि प्रभावकारी र जवाफदेही ढंगले गर्न नसकेको उनले आरोप लगाइन्।
दुई वर्षअघि मुख्यमन्त्री बन्नुअघि पौडेल तत्कालीन नेकपा एमालेको संसदीय दलको नेता चुनिएका थिए। प्रदेश सभामा तत्कालीन एमालेसँग एक्लै बहुमत थियो। उनले एमालेकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी शाक्यलाई हराएका थिए।
पौडेलले ३४ मत पाएका थिए भने शाक्यले २४ मत ल्याएकी थिइन्।
२०७५ जेठमा एमाले र माओवादी एकता भएपछि बागमती प्रदेश सभाका १ सय १० सांसदमध्ये अहिले नेकपाका ८० जना छन्।
संसदीय दलको निर्वाचनमा आफूलाई सहयोग गर्नेलाई मात्रै छानेर मुख्यमन्त्रीले व्यवहार गर्ने गरेको शाक्यको बुझाइ छ।
‘मुख्यमन्त्रीले आफ्नाबारे मात्रै सोच्नुभएको छ। मकवानपुरलाई मात्रै प्राथमिकता दिने गर्नुभएको छ,’ शाक्यले भनिन्, ‘मत हालेको आधारमा पूर्वाग्रही हुने हो भने आफ्नै पार्टी नेतृत्वको सरकार भनेर कसरी स्वीकार्ने? साथीहरूले प्रश्न गर्नुभएको छ।’
फागुन ५ गते सांसद रामेश्वर फुयाललाई भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रीको सपथ गराइएपछि मुख्यमन्त्री पौडेलसँग प्रदेश पार्टी कमिटीको दूरी अझै बढेको छ।
माघ २९ गते नै पौडेलले फुयाललाई मन्त्री बनाउने प्रयास गरेका थिए। त्यतिबेला छलफल गरेरमात्रै मन्त्री बनाउन शाक्यले पौडेललाई सुझाव दिएकी थिइन्। सुरूमा रोकिएका पौडेलले त्यसको पाँच दिनपछि फुयाललाई मन्त्री बनाएरै छोडे। त्यो दिन शाक्य काठमाडौंमा थिइन्।
‘प्रदेशको नाम र राजधानी पनि स्थायी भइसकेको छ।अब सरकारको दुई वर्षको समीक्षा पनि गर्नुपर्छ भनेका थियौं। मन्त्री थप्नुभन्दा पहिला कति मन्त्रालय राख्नेसमेत टुंगो लगाउने भनेका थियौं,’ शाक्यले भनिन्, ‘मुख्यमन्त्रीले २-४ दिन रोक्याजस्तो गर्नुभयो। ठीकै होला भन्ने लागेको थियो तर उहाँले प्रदेश कमिटी र कतिपय मन्त्रीलाई समेत जानकारी नदिई सपथ गराउनुभयो।’
प्रदेश पार्टीका पदाधिकारी मुख्यमन्त्री र मन्त्रीहरूको बैठकमा आफूलाई कामको बोझ भएकाले फुयाललाई मन्त्री बनाउन चाहेको धारणा मुख्यमन्त्रीले राखेका थिए। पार्टी पदाधिकारीले एउटा व्यक्तिलाई टिपेर मन्त्री नबनाउन सुझाव दिएका थिए।
वाग्मती प्रदेशको मन्त्रिपरिषदमा महिला नभएकाले महिला र अन्य क्षेत्र तथा समुदायका सांसदलाई सहभागी गराई समावेशी मन्त्रिमण्डल बनाउन प्रदेश पार्टीले मुख्यमन्त्रीलाई सुझाव दिएको थियो।
‘माघमा बसेको केन्द्रीय कमिटी बैठकमा समेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले प्रदेश कमिटीमार्फत् प्रदेश सरकार चल्नुपर्छ भनेर भन्नुभएको थियो,’ शाक्यले भनिन्,‘मन्त्री नियुक्त गर्दा प्रदेश कमिटीको कुरा छोडौं,कतिपय मन्त्रीलाई सल्लाह गर्नुछ भनेर सपथ कार्यक्रममा सहभागी गराउनुभयो। उहाँको यस्तो छलछामको राजनीति कहिलेसम्म चल्छ होला।’
मुख्यमन्त्रीको काम गर्ने शैली र तौरतरिका सबैलाई छर्लंग भएको समेत उनले बताइन।
‘उहाँलाई हामीले राम्रो कामका लागि सहयोग गर्दै आएका छौं। व्यक्तिगत रूपमा पनि मैले धेरै कुरामा साथ दिएर आएको हो। पार्टी इन्चार्ज हुनुको नाताले तपाईं सफल हुनपर्छ भन्दै आएको हो,’ शाक्यले भनिन्,‘बजेटमा पनि न्यायोचित वितरण देखिएन। उहाँ पूर्वाग्रही पनि देखिनुभयो। बजेटमा साथीहरूले धेरै आपत्ति जनाउनुभएको थियो। बजेट पारितका लागि समेत मैले सक्रिय भूमिका खेलेको हो।’
प्रदेश पार्टीको बैठकमा समेत आफूलाई अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएको भनेर मुख्यमन्त्री पौडेलले शाक्यलाई आरोप लगाएका थिए।
‘अविश्वासको प्रस्ताव ल्याउँदै हुनुहुन्छ अरे भनेर उहाँले मलाई सोध्नुभएको थियो। राम्रो काम गरेर देखाउनुस् यो चिन्ताको विषय होइन भन्ने जवाफ दिएँ,’ उनले भनिन्,‘जनताको चित्त बुझाउने अनि सबैको साथ लिएर काम गर्नुभयो भने कसैले प्रश्न उठाउँदैन।अविश्वासको प्रस्ताव आउँछ कि भनेर धेरै शंका-उपशंका नगर्नुस्।’
अहिलेसम्म कसैले पनि हस्ताक्षर अभियान नचालएको समेत शाक्यले बैठकमा भनेकी थिइन्।
जवाफदेहिता नभएको, अराजक शैली भएको, आफ्नो खुसीले चल्ने गरेको र सबै सांसदलाई न्यायोचित ढंगले नहेरेको आरोप असन्तुष्ट पक्षहरूले मुख्यमन्त्रीलाई लगाउने गरेका छन्।
प्रदेश राजधानी तोक्ने बेलामा पनि सांसदसँग छलफल नगरी नेकपाको सचिवालय गुहारेको आरोप मुख्यमन्त्रीलाई छ।
‘प्रदेश राजधानीका सवालमा धेरै साथीहरू असन्तुष्ट थिए। हेटौंडा कतैबाट पनि पायक पर्दैन। रामेछाप, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक र रसुवाबाट मकवानपुरलाई हेर्दा ठीक छ भन्ने ठाउँ छैन,’ शाक्यले भनिन्, ‘सबैले पार्टीको आदेश/निर्देशनलाई पालनामात्र गरेको हो। उहाँले सबैलाई हेरेर निर्णय गर्नुपर्ने हो त्यो हुन सकेको छैन।’
पुस १३ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेशको ३ को नाम वाग्मती र प्रदेश स्थायी राजधानी हेटौंडा तोक्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री पौडेलले प्रदेश कमिटीको मातहतमा बसेर काम गर्न सिक्न बाँकी नै रहेको शाक्यले बताइन्।
‘पार्टीको केन्द्रीय सदस्यले पार्टीको विधि र प्रक्रियालाई भुल्नु हुँदैन। त्यसलाई मिच्नु हुँदैन,’ उनले भनिन्, ‘मन्त्री थप्ने क्रममा उहाँलाई कहाँबाट हौसला आयो थाहा भएन तर जसरी भएको भए पनि यो गलत काम भएको छ।’