अर्थमन्त्री डा युवराज खतिवडाले एमसिसी सहजै अनुमोदन हुने बताएका छन्।
अमेरिकी कंग्रेस सांसदसँगको भेटमा खतिवडाले एमसिसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको उल्लेख गरे। भेटमा खतिवडाले एमसिसी सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका थिए।
संयुक्त राज्य अमेरिकी कंग्रेस सदस्यद्वय जर्ज होल्डिङ्ग र अमी बेरासँग आज अर्थ मन्त्रालयमा भएको भेटवार्ताको क्रममा खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए।
गत वर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेको उनले चर्चा गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए।