प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।
आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिसामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उनले बताएका हुन्।
७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरूत्साहित पार्ने, विकास प्रयासहरूमा व्यवधान गर्ने यस्ता प्रयासहरूलाई हामीले कर्मद्वारा नै पराजित गर्नेछौं।’
संविधान र कानुन अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरूलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए। वर्तामान सरकारले २ वर्ष पूरा गरे पनि गत वर्षलाई आधारवर्षका रूपमा लिएको उनले बताए।
प्रधानमन्त्री ओलीले आधारवर्षलाई टेकेर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताए।
उनले सन् २०३० भित्रमा नेपालले दीगो विकासका लक्ष्यहरू हासिल गर्ने अठोट समेत गरे।
‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरू हासिल गर्ने अभियानमा छौं, ’ उनले भने।
सरकार समृद्ध नेपाली सुखी नेपालीको ध्येयका साथ सरकार आर्थिक एवं सामाजिक रूपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित भएको र त्यसका लागि मित्रराष्ट्रहरूको समेत साथ रहने अपेक्षा सरकारले गरेको उनले बताए।
प्रधानमन्त्री ओलीले छोटो अवधिमा जनताका आकांक्षा र चाहनाहरू पूरा गर्नुपर्ने चुनौती समेत सरकारसामू रहेको बताए।
प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ