पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार अभियोगमा सफाइ पाउनुमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सहयोगी सिद्ध भएको छ।
काठमाडौं जिल्ला अदालतमा प्रयोगशालाका विशेषज्ञले रोशनी शाहीको कोठाबाट बरामद गरेको चस्मा र रक्सी खाने गिलासको औंठाको छाप तुलनात्मक विश्लेषण गर्न नसकिएको उल्लेख गरिदिएको थियो।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका अधिकारीको त्यही बयानलाई अदातलले महरालाई सफाइ दिनुका दुईमध्ये एक आधार मानेको छ। अदालतले अर्को आधार भने रोशनी शाहीको महरा आफ्नो घरमा नआएको भन्ने बयानलाई मानेको छ। जबकी महराविरूद्ध मुद्दा दायर गर्दा प्रहरीले महराको चस्माको पावर र रोशनी शाहीको कोठामा भेटिएको चस्माको पावर एउटै भेट्टाएको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलले फैसलामा रोशनीको कोठाबाट 'परीक्षणका लागि पठाइएका गिलास र चस्मा समेतमा भएको औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रूपमा विश्लेषण गर्न नपाइएको विशेषज्ञको राय' लाई आधार मानेको छ।
महरालाई सफाइ दिने क्रममा अदातलले प्राविधिक विषयलाई आधार मानेको छ। जबकी आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदातल पाटन पुगेका महराविरूद्ध उनका सुरक्षाकर्मी काजिराम रानामगरले पीडितको कोठा भएको गेटभित्र प्रवेश गरी डेढ घण्टापछि फर्किएको कागजलाई आधार मानेको थियो।
तर रोशनीको बयानलाई आधार मान्दै काठमाडौं जिल्ला अदातलले महरा रोशनीको कोठामा प्रवेश नै नगरेको तर्कमा विश्वास गरेको छ।
उच्च अदातलले पीडित रोशनी शाहीको कोठामा भेटिएको रक्सीको बोतल, गिलास, बदाम भएको प्लेट, चस्माको फ्रेम भेटिएको मुचुल्काका आधारमा रिहा गर्न अस्वीकार गरिदिएको थियो।