'समाज परिवर्तनका लागि हाम्रो पुस्ताको सोचको अन्त्य हुनुपर्छ। नयाँ पुस्ताले नै सकारात्मक परिवर्तन ल्याउन सक्छन्। हामी चाहेर पनि सक्दैनौं। त्यसैले हामी सुस्त छौं।'
बत्तीसपुतली, शिल्पी थिएटरमा 'डबली द स्पेस' द्वारा आयोजित बहस कार्यक्रममा बोल्दै पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भनिन्, 'समाज रुपान्तरणका लागि युवा जोसिनु जरुरी छ।'
कार्यक्रममा 'जयवर्दन सहलेस' र 'दुलारी' उपन्यासका लेखक मुना चौधरी पनि उपस्थित थिइन्।
कार्यक्रमको मुख्य बहस नेपली समाजमा महिलाहरूको स्थिति तथा समाज रुपन्तरणमा राजनीति र साहित्यको भूमिका के-कस्तो छ भन्नेबारे थियो।
लुना भट्टराईले कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन्।
प्रतिनिधि सभाका सदस्य तुम्बाहाम्फेले राजनीति क्षेत्र र लेखक मुनाले साहित्य क्षेत्रबाट पितृसत्ता विरूद्ध कसरी लडिरहेका छन् भन्ने अनुभव सुनाएका थिए। साथै महिलाको स्तर वृद्धिका लागि के–कस्ता कदम चाल्न आवश्यक रहेको भन्ने विषयमा छलफल रह्यो।
तुम्बाहाम्फे विगत ४० वर्षदेखि प्रत्यक्ष राजनीतिमा छिन्। एघार वर्षबाट पढाइ सुरू गरेकी उनले विद्यावारिधि गरेकी छिन्। तर पढाइप्रतिको भोक र सोख दुवै नमरेको उनले बताइन्।
कलेज पढ्दा सधैं नेतृत्वमा अघि सर्ने गर्ने उनी 'नेता' मानिन्थिन्। पहिल्यैबाट परिवर्तन चाहने उनका हात कहिलेकाहीँ लेखनमा पनि सर्ने गरेको उनले सुनाइन्।
'मेरो सोच पहिल्यैबाट राजनीति गर्ने र यसबाट समाज परिवर्तन ल्याउने थियो,' उनले भनिन्।
लेखक मुना चौधरी पनि आफ्ना अनुभव साटिन्। सिरहाकी यी उपन्यासकारले आठ कक्षा पढ्दादेखि नै आफ्नो भूमि सम्बन्धी पढ्न चाहेको तर नपाएको बाल्यकालिन अनुभव सुनाइन्। पछि उनी आफैंले मधेसी समाज अघि सार्न साहित्यिक बाटो पछ्याएको यात्रा केलाइन्।
तुम्बाहाम्फेले साहित्य र राजनीति एक आपसमा जोडिएको विषयमा सकारात्मक प्रतिक्रिया जनाइन्। समाजमा परिवर्तन ल्याउन साहित्यले ठूलो भूमिका खेल्ने भन्दै उनले मुना चौधरीको 'दुलारी' को उदाहरणसँगै साहित्य, समाज र राजनीति जोडिएको बताइन्।
'दुलारी' मुना चौधरीको दोस्रो उपन्यास हो। मधेसी दलित महिलाको जीवनमा केन्द्रित यो कथा भुइँमान्छेको रहेको लेखक चौधरीले बताइन्। उपन्यासमार्फत् मधेसी दलितको अवस्था बुझाउन खोजिएको छ।
उनका अनुसार महिला सशक्तिकरणका लागि महिलाले नै कलम चलाउनु निकै महत्वपूर्ण भुमिका छ। यसले महिलाका पीडा, वेदना र थुप्रै अन्य विषय अघि आउन सक्ने बताइन्।
साहित्यले राजनीति मात्र नभइ हरेक क्षेत्र जोड्ने तुम्बाहाम्फेको बुझाइमा नेपालका थुप्रै साहित्य महिलालाई होच्याउने र दमन गर्ने खालका समेत रहेको उनको भनाइ छ।
'यसप्रकारका लेखमा परिवर्तन ल्याउने हो भने नै समाज परिवर्तनका लागि साहित्य अभिन्न अगंको रुपमा उपयोग हुन सक्छ,' उनले भनिन्, 'महिलाप्रतिको दृष्टिकोण फेरिन सक्छ।'
यो बाहेक कार्यक्रममा राज्य र पितृसत्ताबारे बहस चल्यो।
नेपाली समाज र राजनीतिमा महिला–पुरुषबीच समानता प्रदान गरिएको तर समता भाव नभएको तुम्बाहाम्फेले बताइन्। यसै सन्दर्भमा उनले पितृसत्ता राजतन्त्रभन्दा पनि ठूलो भनिएका कुरा समेत विस्तारमा ल्याइन्।
'केही महिला राजनीति क्षेत्रका उपल्लो तहमा रहेको भन्दैमा महिलाको अवस्थामा परिवर्तन आएको भन्न मिल्दैन,' उनले भनिन्, 'हरेक क्षेत्रका महिलाले समान हक र अधिकार पाएपछि नै सच्चा परिवर्तन आएको भन्न सकिन्छ।'