यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन्। उनलाई जिल्ला सरकारी वकील कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा गरेको सुनसरी प्रहरी स्रोतले बतायो।
सुनसरी जिल्ला अदालतले थप अनुसन्धान निम्ति सोमबार एसएसपी राणालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो। आफूविरूद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आफैं आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।
यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। राणाले भने त्यसमा सत्यता नभएको दाबी गर्दै आएका छन्।