प्रदेश २ मा सरकार परिवर्तन हुने संकेत देखिएको छ।
त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच अनौपचारिक छलफलसमेत सुरू भएको छ।
भर्खरै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ मा दुई पार्टीले गठबन्धन गरेका थिए।
चार स्थानका लागि भएको निर्वाचनमा दुई पार्टीले २-२ स्थान बाँडेका थिए। नतिजा आफ्नो पक्षमा आएपछि दुई पार्टी उत्साहीसमेत भएका छन्।
प्रदेश २ मा सरकार गठन भएको २ वर्ष पुग्न लाग्दा जनताले विकास निर्माण र सुशासनको अनुभूति गर्न नपाएकोले सरकार फेर्न जरुरी रहेको प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सेतोपाटीलाई बताए।
मण्डल नेकपा स्थायी समिति सदस्य र नेकपाको प्रदेश २ का पार्टी इञ्चार्जसमेत हुन्।
'राष्ट्रिय सभाका लागि दुई दलको गठबन्धन सफल भएको छ। त्यो सफलताबाट यो गठबन्धनलाई हामीले अगाडि बढाउनको लागि प्रदेश २ का जनतालाई सन्देशसमेत दिनुपर्छ,' मण्डलले भने,'त्यहाँका जनताले लडेर संघीयता ल्याएको हो। प्रदेश सरकारले संघीयतालाई भजाउने मात्रै काम गरेको छ। प्रदेश सरकार राष्ट्रियस्तरमै बदनाम छ। त्यहाँको सरकार बदल्नुको विकल्प छैन।'
माघ बित्न लाग्दासमेत सरकारले कुनै योजना सञ्चालन गर्न नसकेको भन्दै मण्डलले अहिलेसम्म बजेट पास हुन नसकेको बताए।
'आर्थिक वर्षको हिसाबले सातौं महिनामा चल्दैछ। अहिलेसम्म बजेट पास हुन सकेको छैन, अख्तियारी पठाएको छैन। कुनै योजना सञ्चालन भएको छैन,' उनले भने,'जब असार आउँछ एक महिनाभित्र योजना बाँड्ने गरिन्छ, खर्चमात्रै हुन्छ। जनताले के पायो त? यसकारण सरकार परिवर्तन जरूरी छ।'
सरकार परिवर्तन भए तपाईं मुख्यमन्त्री हुने हो भन्ने जिज्ञासामा मण्डलले संसदीय व्यवस्थाअनुसार पहिलो दाबेदार आफैं भएको दाबी गरे।
'संसदीय व्यवस्थामा अहिलेसम्म जुन अभ्यास चलेको छ। म संसदीय दलको नेता भएकाले म हुनुपर्छ भन्ने मेरो बुझाइ हो,' उनले भने,'मभन्दा अरू कोही साथी उत्तम देखिनुभयो भने पार्टीले अरूलाई निर्णय गर्न पनि सक्छ। जीवन्त पार्टीमा छलफल भएर जो पनि उम्मेदवार बन्न सक्छ।'
सरकार फेर्नुपर्छ भन्नेमा आफू पुगेको भए पनि अहिलेसम्म यसबारे औपचारिक छलफल भने नभएको उनले बताए।
राजपाका नेता तथा सांसदसमेत मुख्यमन्त्री लालबाबु राउतको सरकार परिवर्तन गर्नुपर्ने पक्षमा रहेको उनले बताए।
नयाँ गठबन्धन नेकपा-राजपाकै हुने उनले दाबी गरे।
'नेकपा र संघीय समाजवादी पार्टीको सहकार्य टुटेको छ। घटनाक्रम हेर्दा तत्कालै दुई पार्टीको गठबन्धन हुने देखिँदैन,' उनले भने,'कांग्रेससँग मिल्ने सम्भावना पनि देखिँदैन। अहिले यस्तो परिस्थिति देखिएको छ कि,अब बन्ने नयाँ सरकार नेकपा राजपा गठबन्धनकै हुन्छ।'
नेकपा-राजपा गठबन्धन भए त्यो सरकारको नेतृत्व नेकपाले नै गर्ने उनले बताए।
समाजवादी र राजपाको गठबन्धन सरकारमा समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री छन् भने राजपाका सरोजकुमार यादव सभामुख छन्।
राजपाको सभामुख भएकोले पनि आफ्नै पार्टीले मुख्यमन्त्री पाउने उनको तर्क छ।
नयाँ सरकार गठनबारे नेकपा र राजपाका शीर्ष नेताहरूबीच औपचारिक छलफल भने सुरू नभएको उनले बताए।
प्रदेश २ को प्रदेश सभा १०७ सदस्यीय छ। बहुमत पुग्न ५४ जना सांसद चाहिन्छ। अहिले समाजवादीसँग ३० र राजपाको २५ गरी ५५ सांसद छन्। एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा प्रदेश-२ को पनि सबभन्दा ठूलो दल छ। ऊसँग ३२ जना सांसद छन्।