प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र प्रेसको सम्बन्धलाई क्रिकेटको भाषामा बुझाएका छन्।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा ओलीले प्रेसले सरकारविरूद्ध बलिङ गरेकोगर्यै गरेकाले कहिलेकाहीँ ब्याटिङ गरेको बताए।
केही समयअघि एक कार्यक्रममा प्रधानमन्त्रीले सरकार गरेका राम्रो कामको प्रसंशा गरेर समाचार लेख्न सक्ने मुटु भएका सम्पादक नभएको टिप्पणी गरेका थिए।
तर त्यसको अर्थ सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्ने नहुने उनले बताए।
'प्रेस स्वतन्त्रता संकुचित र कुन्ठित हुने काम सरकारले गर्ने छैन। यो सरकार आन्दोलनबाट आएको हो र लोकतन्त्रको रक्षा गर्न आएको हो। म पनि लोकतन्त्रका लागि लडेको व्यक्ति हुँ,' ओलीले भने, 'तपाईंहरूले सरकारको आलोचना गर्नुहुन्छ। कहिलेकाहीँ अलि बढ्ता नै गर्नुपर्छ। मैले पनि कहिलेकाहीँ आलोचना गरें भने सरकार प्रेसप्रति असहिष्णु भयो भन्नु भएन।'
प्रेसले निरन्तर लेखेपछि सरकारले पनि बेला बेलामा जवाफ फर्काउने गरेको प्रधानमन्त्रीको भनाइ छ।
'तपाईंहरूले बलिङ गरेकोगर्यै गरेपछि हामीले कहिलेकाहीँ ब्याटिङ त गर्नुपर्यो। यसो हामी पनि ब्याटिङ गर्यो सरकार प्रेसको शत्रु भयो भन्नुहुन्छ,' प्रधानमन्त्रीले भने, 'सरकार प्रेसविरोधी हुन सक्तैन, प्रेसको शत्रु हुन सक्तैन।'
उनले प्रेसले बढ्तै भएर सरकारको आलोचना गरेको जिकिर गरे।
'तपाईंहरूलाई भन्छु-तपाईंहरू पनि बढ्ता भएको साँचो हो। तर बढ्ता हुन पनि पाइन्छ,' ओलीले भने,' लोकतन्त्र ल्याउन तपाईंहरूले पनि योगदान गर्नु भएको छ। त्यसैले लोकतन्त्रको हिस्सेदार ठान्नु र आफ्नो कुरा राख्नु ठीकै हो। आज यहाँ कोठामा पनि तपाईंहरू सबैले स्वतन्त्रपूर्वक र निर्धक्कपूर आफ्नो कुरा राख्नुभयो। '
उनले सरकार र प्रेसबीच कहिलेकाहीँ ठाकठुक पर्नु स्वभाविक भएको बताए।
'आफूलाई स्वतन्त्र देशको स्वतन्त्र नागरिक ठानेर तपाईंहरूले आफ्ना कुरा राख्दा र हामीले आफ्ना कुरा भन्दा कहिलेकाहीँ ठाक्कठुक्क पर्छ तर त्यसमा कसैले अन्यथा लिनु हुन्न,' प्रधानमन्त्रीले भने।
यो पनि पढ्नुस्: