एमसिसिबारे अध्ययन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको हो।
‘एमसिसीबारे अध्ययन गरी दश दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मेवारी दिइएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।
कार्यदल गठन गरेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय कमिटी बैठकमा जानकारी गराएका हुन्।
एमसिसीलाई लिएर नेकपाभित्र विवाद छ।
रावलले नै नेपालका लागि एमसिसी हितकर नहुने सार्वजनिक रूपमा बताउने गरेका छन्।
तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड भने संसदबाट एमसिसी अनुमोदन गर्नुपर्ने पक्षमा छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमसिसी संसदबाट पास गर्नुपर्ने बताउँदै आएका छन्।