नेकपा नेताहरूमा बुर्जुवा प्रवृत्ति बढ्दै गएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेका छन्। नेताहरूमा सम्पति मोह बढ्दै गएको र कम्युनिष्ट आचरण हराउँदै गएको विषय छलफलमा आएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।
‘कम्युनिष्ट पार्टीको सरकार छ। भ्रष्टाचार र अनियमितता छ। अनि कसरी जनताले सुशासनको अनुभूति गर्न सक्छन्,’ ती केन्द्रीय सदस्यले भने, ‘हाम्रा नेताहरूमा सम्पत्ति मोह बढ्दै गएको छ। पहिला आफूले आचारसंहिता पालना गरेर मात्रै अरुलाई सिकाउनु पर्छ।’
अधिकांश समूहमा यती होल्डिङ्सलाई दिइएको जग्गा प्रकरणबारे प्रश्न उठेको छ। खाली जग्गा जति उसलाई दिनपर्ने बाध्यता के छ भन्नेसमेत प्रश्न गरेका थिए। प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले यती समूहले विगतदेखि पार्टीलाई गुन लगाएकाले सरकारले पनि उनीहरूलाई सहयोग गरेको भन्दै यती होल्डिङ्सको बचाउ गरेका थिए।
जवाफमा केन्द्रीय सदस्यहरूले वर्षौंदेखि अवसर नपाउँदा पनि समाज परिवर्तनका लागि खटेको कार्यकर्तालाई पार्टीले के दिएको छ भनेर प्रश्न गरेका थिए।
नेताहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने मागसमेत कतिपय समूहमा उठेका छन्। वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मले निर्वाचन अगाडि र पछाडिको सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग राखेको एक केन्द्रीय सदस्यले बताए।
पार्टीको आचारसंहितामा परिवारसँगै खाना खानुपर्ने प्रसंगलाई केन्द्रीय सदस्यहरूले पार्टीले भात दिएको छ र सँगै खाने भनेर भनेका छन्। परिवारसँगै बसेर खाना खानुपर्ने आचारसंहिता बनाउनुले पनि नेतृत्व पारिवारिक मोहमा फसेको स्पष्ट हुने केन्द्रीय सदस्यहरूको भनाइ छ।
बैठक ढिलो भएको कारण धेरै कुरामा असर परेको र यसले पार्टीमा ऊर्जा भर्न नसकेको धारणा आएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले सेतोपाटीलाई बताए। सरकारका विरुद्धमा छरपष्ट प्रचार हुनुको पछाडि संस्थागत निर्णयको अभाव रहेको धारणा समेत बैठकमा आएको सुनुवारले बताए। एमसिसी प्रकरणमा अमेरिकनहरूको धारणा फरक-फरक आएकाले यसलाई विज्ञहरूसँग छलफल गरेर मात्रै पारित गर्नुपर्ने मत केन्द्रीय सदस्यहरूले राखेका थिए।
पोलिटब्युरो गठन हुनुपर्ने, बैठकहरू नियमित गर्नुपर्नेमा सबैको एक मत रहेको अर्का केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
‘पार्टीले सरकार चलाउने हो। सरकारले पार्टी चलाउने होइन तर अहिले उल्टो भइरहेको छ,’ समूह १३ मा उठेका धारणाबारे रिजालले भने, ‘सरुवा-बढुवामा समेतमा पार्टीलाई थाहा दिनुपर्छ भनेको होइन। तर, नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा लगायतका महत्वपूर्ण विषय पार्टीमा छलफल हुनपर्यो। नीतिगत नेतृत्व भनेको यही हो भन्नेमा सबैको एकमत छ।’
विदेश मामिलामा सरकराले लिएको नीतिको केन्द्रीय सदस्यहरूले प्रशंसा गरेको रिजालले जानकारी दिए।एमसिसीको बारेमा मत विभाजित भएको उनले बताए। सचिवालयले यसको टुंगो किन लगाउन सकेन भनेर आफूले प्रश्न गरेको समेत रिजालले बताए।
‘एमसिसीबारे प्रधानमन्त्रीले त्यती धेरै चर्चा गर्नुभयो तर अर्का अध्यक्षले पेश गरेको प्रतिवेदनमा यो विषय उल्लेख छैन,’ बैठकमा बोलेकोबारे जानकारी गराउँदै उनले भने, ‘एमसिसीबारे उहाँहरूकै बीचमा विवाद छ। तसर्थ पहिला नेतृत्वकै बीचमा एकमत हुनपर्छ। यसरी गयो भने सम्झौता पनि नबिथोलिने र पार्टीमा पनि समस्या हुँदैन।’
केन्द्रीय सदस्य एवम् समूह ७ की संयोजक पूर्णकुमारी सुवेदीले पार्टीलाई बलियो बनाउने संस्थागत निर्णय गर्नेमा धेरैको जोड रहेको बताइन्। ‘पार्टीलाई क्रियासिल बनाएर तलदेखि माथिसम्म अनुशासन कायम गराउनपर्छ। कम्युनिष्ट पार्टीको सरकारले जनताको मागलाई सम्बोधन गर्नपर्छ भन्ने आजाव धेरैको छ,’ उनले भनिन्, ‘जनमत र जनविश्वासलाई व्यवहारमा उतार्न पार्टीले दैनिक जीवनसँग जोडिएका विषयलाई सम्बोधन गर्न धेरैले माग गरेका छन्।’
तलसम्म पार्टीको एकता नभएकोमा धेरैले चिन्ता गरेको समेत उनले बताइन्। महिलाको ३३ प्रतिशत हक सुनिश्चित गर्नुपर्ने र उत्पीडन तथा पछाडि पारिएकाहरूलाई अगाडि बढाउन पार्टी गम्भीर हुनुपर्ने माग उठेको उनले बताइन्।
समूह ६ मा परेकी केन्द्रीय सदस्य दिलु पन्तले पार्टीमा कार्यकर्ताको मूल्यांकन पद्दति कमजोर भएको आवाज उठेको बताइन्। ‘गुटबन्दीले राम्रा कार्यकर्ता पाखा लागेका छन्। नवप्रवेशीले ठाउँ पाएका छन्। ठेकेदार व्यापारी र पैसावाला हावी भएका छन्। उनीहरूले टिकट पाउँदा इमान्दार कार्यकर्ता खुसी हुनपर्ने बाध्यता छ,’ छलफलमा उठेका धारणाबारे जानकारी दिँदै पन्तले भनिन्, ‘टिकट दिँदा एउटैलाई पटक-पटक दिइएको छ। सुविधा पाउने र नपाउनेबिचको दुरी बढेको छ।’
प्रधानमन्त्रीले बैठकमा असाधारण काम गरेको भनेर भने पनि यसको महसुस जनताले नगरेको उनले बताइन्।
नेकपाका प्रचार-प्रसार विभागका उपप्रमुख सूर्य थापाले विषयगत विचारधारात्मक छलफल कम भएको बताए।
‘प्रतिवेदनमाथिको छलफल कम भएको छ। आ-आफ्ना समूहका पूर्ववर्ती पार्टीका रस्साकस्सी बढी भएका छन्,’ थापाले भने, ‘पूर्ववर्ती धार र उपधार भइरहेको छ तर यसलाई कसरी घुलमिल गर्ने भन्ने चिन्ता भने कम छ।’
मसिना कुरामा छलफल हुनुको साटो सतही र बजारीया हल्लाको पछाडि केन्द्रीय सदस्यहरु बहकिएको समेत थापाले बताए।
शुक्रबारको बैठकमा टोली नेताहरूले समूहमा केन्द्रीय सदस्यहरूले राखेका धारणालाई प्रस्तुत गर्नेछन्। त्योभन्दा पहिला आफ्ना आफ्ना समूह एकपटक बस्ने समेत केन्द्रीय सदस्यहरूको योजना छ। नेकपा जारी केन्द्रीय कमिटीमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समूह बनाएर छलफल भएको छ। पन्ध्र वटा समूह बनाएर छलफल भएको छ। एउटा समूहमा २९ जना केन्द्रीय सदस्य छ। केन्द्रीय कमिटिको बैठक शुक्रबार १ बजे बस्नेछ।