आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणालगत्तै संसदमा दौडिए।
सभामुख भएपछि सांसदहरूले खादा लगाइदिएर बधाई दिइरहेका थिए। तर सापकोटाको आँखा भीडदेखि पर प्रधानमन्त्री केपी शर्मा ओली बसेको ठाउँमा पुग्यो।
उनी भीड पन्छाउँदै दौडिएर प्रधानमन्त्रीलाई नमस्कार गर्न पुगे।
प्रधानमन्त्रीलाई भेट्नुअघि सापकोटालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खादा लगाइदिएका थिए।
सापकोटा नेकपामा दाहाल निकट हुन्।
दाहालकै जोडबलमा उनी सभामुखका उम्मेदवार बनेका थिए।
सापकोटा संसदमा यति हतारमा थिए कि उनले आफ्ना समर्थक देवप्रसाद गुरूङले बधाई दिँदै हात मिलाउन खोजेको पनि हेक्का राखेनन्।
सापकोटा छिटो प्रधानमन्त्री भेट्न चाहन्थे। हतारिँदै प्रधानमन्त्री बसेकै सिटछेउ सापकोटा पुग्दा प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूसँग कुराकानीमा व्यस्त थिए।
त्यतिबेलासम्म प्रधानमन्त्री ओलीको नजर सभामुख सापकोटातर्फ परेकै थिएन। प्रधानमन्त्री छेउ पुगेर सापकोटाले नमस्कार गरे।
प्रधानमन्त्रीबाट बधाई लिएपछि सापकोटाको पाइला सुस्ताए।
उनले प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरूसँग हात मिलाए।
राजपा सांसदहरूसँग हात मिलाउँदै गर्दा उनले पूर्वसहयोद्धा बाबुराम भट्टराईलाई देखे।
प्रतिपक्षी सांसद बस्ने एक कुनामा भट्टराईलाई सापकोटाले भेटे अनि बधाई लिए।
सोमबार बिहान सभामुख सापकोटाले राष्ट्रपति निवास पुगेर सपथग्रहण गरे।
लगत्तै उनी पदभार ग्रहण गर्न सिंहदरबार हानिए।
पदभार ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गरे।
पत्रकारले सोधे- हिजो कि संसदमा दौडनुभएको?
सभामुख सापकोटाले आफूलाई सभामुख बनाउने पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री भेट्न हतारिएर गएको बताए।
‘आज मैले सपथ लिएँ। आजदेखि म पूर्ण साझा भएँ। हिजोसम्मको कुरा गर्दा उहाँ (केपी शर्मा ओली) प्रधानमन्त्री मात्र नभएर मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो। त्यसकारण स्वभाविक रूपमा त्यतिखेर प्रधानमन्त्रीबाटै सुरू गर्न खोजें। त्यो एकदम स्वभाविक छ। त्यो सदनको मूल्यमान्यता, पद्धति र गरिमासँग मेल खान्छ। कांग्रेस सभापति आउनुभएको थिएन। उपसभापति विजयकुमार गच्छदार आउनुभएको थियो। उहाँ त्यहीँ हुनुहुन्थ्यो। उहाँहरू त्यहाँ भएपछि पहिले भेट्न पुगेको हुँ।’