इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास परिसरमा आइतबार तीन रकेट प्रहार भएका छन्। उक्त आक्रमणमा एक जना घाइते भएको अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले जनाएको छ।
अधिकारीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ, उनी आफ्नो काममा फर्किसकेको बताइएको छ। अमेरिकी राज्य विभागले आइतबारको सो आक्रमण राजदूतावासमै भएको उल्लेख नगरेपनि रकेट प्रहार भएको जनाएको छ।
साथै विभागले कूटनीतिक सेवाको सुरक्षा गरी आफ्नो दायित्व पूरा गर्न इराक सरकारलाई पत्राचार गरेको छ। यस आक्रमणपछि अमेरिकाले कसैलाई दोषी ठहर्याएको छैन भने कसैले जिम्मा पनि लिएको छैन।
विभाग प्रवक्ताका अनुसार गत सेप्टेम्बर महिनायता इरान र इरान समर्थित सैन्य समूहले अमेरिकी अधिकारीमाथि इराकमा १४ पटक आक्रमण गरिसकेका छन्।