संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस संक्रमणबाट नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको बताएका छन्।सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले भाइरसको संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘हेल्थ डेस्क’ लाई पर्याप्त स्थान उपलब्ध गराइ सहजीकरण गर्ने जनाए। यस्तै चीनबाट आएका पर्यटकमा संक्रमणको कुनैपनि लक्षण देखिएमा होटल, ट्रभल/ट्रेकिङ एजेन्सी लगायतलाई यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाइने विज्ञप्तिमा उल्लेख छ।
अब जहाजबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई हेल्थ डेस्कमा आधारभुत जाँच गरिनेछ। नेपालमा सडकमार्गबाट पनि पर्यटक आउने भएकाले त्यस्ता स्थानहरु रसुवा, यारीनाका लगायत उत्तरी सीमानाकामा समेत सतर्कता अपनाइने भएको छ।
जाँचका क्रममा भाइरसको संक्रमणको सम्भावना देखिएमा विरामीलाई तत्काल आइसोलेसन कक्षमा राखेर उपचार गरिने भएको छ। अब विमानस्थलमा कार्यरत सबै कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकता अनुसार अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नुपर्ने छ।
चिनियाँ पर्यटकको बढी आगमन हुने काठमाडौं, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा पनि सतर्कता अपनाइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको प्रभाव नेपाल भित्रिन नदिन आवश्यक पूर्व तयारी गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकेका छन्।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण एक नेपाली व्यक्तिमा देखिसकेको छ। चीनमा भने यसबाट ८० जनाको मृत्यु भइसकेको छ।