केन्द्रीय कमिटी बैठकमा म के बोल्छु
गत मंसिर र पुसमा गरी एक साता बसेको नेकपा स्थायी कमिटी बैठकमा महिलाको प्रतिनिधित्वको विषय जोडतोडले उठ्यो। तर यो विषयलाई उठाउनेमा महिला नेतृहरू मात्रै भए।
४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल गरी २ जान मात्रै महिला छन्। ९ जनाको सचिवालयमा भने एक जना पनि महिला छैनन्।
बैठकमा शाक्य र भुसालले सचिवालय सदस्यमा महिला नभएकोमा कडा आपत्ति समेत जनाएका थिए। नेकपाको केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय छ। जसमध्ये महिलाहरू ७४ जनामात्रै छन्।
आउँदो केन्द्रीय कमिटीको बैठकमा नेकपाकी केन्द्रीय सदस्य एवम् सांसद रेखा शर्माले यो विषयलाई महत्वका साथ उठाउने योजना बनाएकी छन्। राजनीतिक दलसम्बन्धी कानुनअनुसार पार्टीका हरेक कमिटीमा एक तिहाइ महिला अनिवार्य हुनुपर्छ। संसदको राज्य व्यवस्था समितिले यो कानुन बनाउँदा शर्मा सदस्य थिइन्।
'राजनीतिक दलसम्बन्धी कानुनमा जे व्यवस्था छ,यसलाई पालना गरिएको छैन। यसको कार्यान्वयनको कुरालाई मैले उठाउने सोच बनाएको छु,’शर्माले सेतोपाटीसँग भनिन्,‘पार्टी एकताको मूलभूत काम पूरा भए पनि सबै काम सकिएको छैन। विधान पनि संशोधन हुँदैछ। त्यसैले अब कि चाँडो महाधिवेशन हुनुपर्यो या पार्टी कमिटीमा महिलाहरू थप्नुपर्छ भनेर बैठकमा कुरा उठ्ने छ।'
पार्टी अध्यक्षहरूले महाधिवेशनसम्मको लागि संक्रमणकालीन व्यवस्था भएकाले यस्तो भएको बताएका थिए। त्यसैले आफूहरूले आवाज नउठाएको उनले बताइन्।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्षहरूले ल्याएको एजेण्डाहरूमा छलफल हुने र आवश्यक परेमा बैठकले त्यसलाई थपघट गर्ने शर्माको भनाइ छ।
‘हाम्रो बैठक १५ गतेदेखि बस्दैछ। यो भन्दा अगाडि एकताको बैठक बसेको थियो। तर त्यो ‘रोलगाल’को बैठक जस्तो थियो। हाम्रो काम सुन्ने मात्रै थियो,'शर्माले भनिन्,'मैले सुनेअनुसार यसपटक सबैले बोल्ने गरी बैठक बस्दैछ। अध्यक्षहरूले ल्याएको प्रतिवेदनमा छलफल हुँदैछ। त्यसमा कहाँ छुटेका छन्। त्यसलाई विश्लेषण गरेर छलफल गर्छौं। राष्ट्रिय सरोकारका विषयमा पनि छलफल गर्छौं।'
नेकपाका केही युवा केन्द्रीय सदस्यहरूले भने शीर्ष नेताहरूका बीचमा देखिएको दूरी कम गराउन दबाब दिने योजना बनाएका छन्। पूर्वएमाले र पूर्वमाओवादी पक्षधर युवा नेताहरूले यस्तो प्रयास गरेका छन्। ती मध्येका एक हुन्,महेश बस्नेत।
'विशेष गरेर नेताहरूको बीचको अन्तरसंवादलाई व्यवस्थित गरेर नेताहरूको बीचमा रहेको दूरी घटाउन हामीले महत्वपूर्ण प्रयास गर्छौं, 'बस्नेतले सेतोपाटीसँग भने,'शीर्ष नेताहरूले उठाएका सकारात्मक कुरालाई हौसला दिने र नकारात्मक कुरालाई सच्याउनको लागि दबाब दिनका लागि भूमिका खेल्नुपर्छ भनेर हामीले छलफल गर्दैछौं।
'कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकलाई महाधिवेशनपछिको बलियो बैठकका रूपमा हेरिने भए पनि यो बैठकमा गहन छलफल हुन भने कठिन रहेको बस्नेतले बताए।
'हाम्रो कमिटी ठूलो भएकाले जीवन्त छलफल गर्न कठिन छ। साना र छरिता कमिटीमा आन्तरिक जनवादको अभ्यास जसरी हुन्थ्यो त्यो हुन सक्दैन,'बस्नेतले भने,'यो बैठक आफैंमा भेला जस्तो हुन्छ। सरकारलाई कसरी जनतासँग जोड्ने र जनतामा रहेको भ्रमलाई चिर्ने भन्नेमै हाम्रो ध्यान रहन्छ। पार्टीको संगठनलाई व्यवस्थित ढंगले सरकार र पार्टीको कार्ययोजनासँग जोडेर लैजान बैठकले योजना बनाउने छ भन्ने मेरो विश्वास छ।'
अर्का केन्द्रीय सदस्य एवम् नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टीलाई विधानसम्मत,पद्धतिसम्मत र सहमतिका आधारमा सञ्चालन गर्नमा दबाब दिने बताए।
'कतिपय संक्रमणकालीन अवस्थाले गर्दा पार्टी प्रणालीगत ढंगले र विधान अनुरूप चल्न सकेको छैन,'रिजालले भने,' हामी केन्द्रीय सदस्यहरूको जोड नेताहरूका बीचमा हार्दिकता,एकता र समन्वय गराउन समेत जोड रहनेछ।'
बैठकले एकताको बाँकी काम सक्ने ठोस योजना ल्याउने र देशभरिका कार्यकर्ताहरूलाई एकताको सन्देश दिनेमा आफू विश्वस्त रहेको रिजालले बताए।
'केन्द्रीय कमिटीबाट एकताबद्ध ढंगले राष्ट्रिय अभियानको घोषणा हुन्छ भन्ने मेरो विश्वास छ,’उनले भने,'देशव्यापी आमसभा गर्ने,कार्यकर्ताको बीचमा प्रशिक्षण चलाउने,कमिटीका बैठक गर्ने,संगठित सदस्यहरूको अभिलेख राख्ने सहितका योजना बैठकले ल्याउने मेरो आशा छ।'
२०७५ जेठमा पार्टी एकता हुँदा दुई वर्षभित्र महाधिवेशन हुने भनिएकाले २०७७ को चैतसम्म पार्टीको एकता महाधिवशेन हुनेमा आफू आशावादी रहेको पनि रिजालले बताए।