संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन्।
तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गरेको व्यापार महोत्सवलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढेको बताए।
एयरपोर्टको धावनमार्ग विस्तारबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउन महोत्सव स्थलमै साढे १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर, ज्ञापनपत्र बुझाइएको थियो।
टरिगाउँ एयरपोर्टको निरीक्षणमा पुगेका पर्यटन मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उक्त एयरपोर्ट भौगोलिक र वातावरणीय हिसावले नेपालकै उत्कृष्ट एयरपोर्ट भएपनि राज्यले ठग्दै आएको दावी गरे।
उनले टरिगाउँ एयरपोर्टलाई पाइलट प्रशिक्षण गर्ने एयरपोर्टको रुपमा विकास गर्न सकिने बताए। २०११ सालमा स्थापना भएको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टको धावनमार्ग जम्मा ७ सय ५० मिटरमा मात्रै कालोपत्रे छ। हाल दैनिक दुई वटा उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा १८ सिटे साना टुईन अटर विमान मात्रै चल्दै आएका छन्। त्यो भन्दा ठूला विमान आउन सक्दैनन्।
डिपो समेत नभएकाले इन्धन पनि बोकेर ल्याउनु पर्ने बाध्यताले जम्मा १४–१५ यात्रु मात्रै एक पटकमा यात्रा गर्न पाउँछन्। विमान कम्पनीले इन्धन राखेको सिटको पैसा पनि यात्रुबाटै असुल्दै आएको छ। त्यसले गर्दा दाङ काठमाडौंको भाडा झन्डै ७ हजार रुपैयाँ पर्ने गरेको छ। जुन नेपालगञ्जको भन्दा पनि महँगो हो।
महोत्सव सुरु हुनुभन्दा पहिला निकालिएको शोभा यात्रामा सहभागी विद्यार्थीले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए। ‘कहिले ठूला विमानमा चढ्न पाउँछौँ, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सार्वजनिक रुपमा यसरी एयरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो।
तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउद्देश्य सभाहलको आर्थिक जोहो गर्न महोत्सव गरिएको हो। तर संघका पूर्व अध्यक्ष विमल रिजालले आवश्यक परे महोत्सवबाट संकलित सम्पूर्ण रकम विमानको धावन मार्ग विस्तारमा लागाउन सकिने बताएका छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई तुलसीपुरका मेयर घनश्याम पाण्डे लगायतले सम्वोधन गरेका थिए। महोत्सव २० गते सम्म चल्ने छ।