उदयपुरको बेलका नगरपालिका कार्यालयमा जानुभयो भने तपाईंले देशका अरू कुनै स्थानीय तहमा नहुने दृश्य देख्नुहुनेछ- विपक्षी दलका नेताको कार्यकक्ष।
बेलकामा तत्कालीन नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाले चुनाव जितेर मेयर भएका थिए। थापाका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार थिए।
चुनाव जितेपछि मेयरले नगरपालिकाको कार्यभार सम्हालेनन् मात्रै उनले नयाँ नियम नै ल्याए। त्यो हो- विपक्षी दलको कार्यकक्ष पनि खोल्ने। उक्त निर्णय मेयर थापाले नगरसभाबाट नै गरेका हुन्।
विपक्षी दलको कार्यकक्ष खोलेको दुई वर्ष भयो तर यहाँ विपक्षी दलका नेता गएका छैनन्। कार्यकक्षमा कार्पेट, फर्निचर राखेर चट्ट त बनाइएको छ तर जसका लागि बनाइएको हो उनी कार्यकक्ष नै आएनन्।
सेतोपाटीले मंगलबार मेयर थापालाई संविधानमै व्यवस्था नभएको नियम बनाएर किन विपक्षी दलको कार्यालय खोल्नुभएको भन्ने प्रश्न गर्दा थापाले विपक्षी दललाई कार्यकक्ष छुट्टाउँदा थप पारदर्शी हुने तर्क गरे।
‘यस्तो व्यवस्था अरू स्थानीय तहमा छैन। हामीले नयाँपन दिनमात्रै खोजेको होइन, एउटा फरक सन्देश पनि दिन खोजिएको हो। अरू स्थानीय तहले पनि यो कुरालाई सकरात्मक लिनुभएको प्रतिक्रिया पाएको छु,’ मेयर थापाले सेतोपाटीसँग भने।
उनकाअनुसार कांग्रेसका लागि छुट्टाइएको यो कार्यकक्षमा अहिलेसम्म कोही आएको छैन।
‘निर्णय भएलगत्तै उहाँको (कांग्रेस) पार्टीलाई नै पत्राचार गरेर जानकारी गराएको हो,’ उनले थपे।
कांग्रेसले भने नगरपालिकामा मेयरले खोलेको कार्यकक्षमा आफूहरू नजाने बताएको छ।
नेपाली कांग्रेसबाट चुनाव जितेका नगरकार्यसमिति सदस्य सुशील सेढाइले नगरपालिकाले विपक्षी दललाई कार्यकक्ष उपलब्ध गराउने गरी गरेको निर्णय पार्टीले अस्वीकार गरिदिएको बताए।
‘मेयरले गरेको प्रस्ताव ठीकै हो तर संविधान र पार्टीको नीति स्थानीय तहमा एकै छानामुनी बसेर विपक्षी दलका नेताले काम गर्ने परिकल्पना छैन, त्यसैले त्यो कार्यकक्षमा हामी जाँदैनौं,’ सेढाइले सेतोपाटीसँग भने, ‘हामी बाहिरै बसेर नगरका राम्रा कामको प्रशंसा र नराम्रा कामको विरोध गर्छौं।’
उक्त कार्यकक्षमा नजाँदा कांग्रेसलाई कुनै घाटा नलाग्ने पनि उनले बताए।
मेयर थापाले विपक्षी दलले नेता चयन गरी नपठाएसम्म उक्त कार्यकक्ष त्यसै राखिने बताए।
‘उहाँहरूले नेता चयन गरी पठाउनुहोला भन्ने विश्वास छ,’ उनले भने, ‘कार्यकक्षको ढोकाछेउ राखिएको विपक्षी दलको कार्यकक्ष लेखिएको बोर्ड पनि हटाउने पक्षमा हामी छैनौं।’
थापाका अनुसार कांग्रेसलाई नगरका विभिन्न योजनाहरू अनुगमन समितिमा पनि राखिएको छ।