चराहरुको अध्ययन गर्न विदेशी नागरिकको एक टोली दाङको तुलसीपुरमा आएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ मा अवस्थित स्यालापानी गिद्ध रेष्टुरेण्टमा फ्रान्सेली नागरिक जुली सियाम्स र उनका सहयोगी आएर चराहरुको अध्ययन सुरु गरेका छन्।
माघ ४ गते दाङ आएका उनीहरुले एक डेढ महिना यही बसेर स्थानीय चराहरुको बारेमा अध्ययन र अनुसन्धान गर्ने भएका छन्। पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले फागुन ३ गते आयरल्याण्डबाट थप तीन जना चरा विज्ञहरुको समूह तुलसीपुरमा अध्ययन गर्न आउने बताए।
तीन विज्ञहरुले तुलसीपुरको स्यालापानी सामुदायिक वन क्षेत्रमा पाइने चराहरुको अवस्था अध्ययन गर्नेछ। तुलसीपुरको छिल्लीकोटमा चराहरुको अध्ययन गर्नेगरी ट्रान्जिट प्वाइन्ट स्थापना गर्ने विषयमा पनि अध्ययन हुने उनले बताए।
रावतका अनुसार ती चरा विज्ञका आयरल्याण्डमा निजी चिडायाखाना छन्। दाङमा स्यालापानी र लालमटियामा गरी दुई गिद्ध रेष्टुरेण्ट छन्। एक डेढ महिना दाङमा बसेर आफूले लोपोन्मुख प्रजातिका गिद्ध तथा अन्य विभिन्न चराहरुको आहार, आनिबानी, वासस्थान, सुरक्षा अवस्था, चरा पर्यटनको संभावना लगायका बारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने टोली सदस्य जुलीले जानकारी दिइन्।
‘निश्चित प्रजातिका गिद्ध विश्वमै लोमोन्मुख अवस्थामा पुगेको छ’, जुलीले भनिन् ‘किन गिद्धहरु यसरी लोप हुँदै जान थालेका हुन्? बासस्थानको समस्याले गर्दा त्यसो भएको हो वा अन्य प्राकृतिक उथलपुथलले हो? त्यो अध्ययन गर्ने हाम्रो प्रयास रहने छ।’
चरा अध्ययनको व्यवस्थापन पर्यावरणीय दिगो विकास मञ्चले मिलाइदिएको हुँदा आफू खुसी रहेको उनले प्रतिक्रिया दिइन्।
आफू फ्रान्सेली भएपनि अध्ययनको क्रममा आयरल्याण्डमा बस्दै आएको बताउने २४ वर्षीया जुलीले चरा सम्वन्धी विषयमा स्नातकोत्तर गरेको बताइन्।
आफूले ल्याएका बाईनाकुलर, क्यामेरा लगायतका उपकरण चराको अध्ययन र अनुसन्धानमा सहयोगी बन्ने विश्वास गरेकी उनले सबैभन्दा धेरै सहयोग स्थानीय गाइडको आवश्यक पर्ने बताइन्।
‘म तपाईको सबै भाषा बुझ्दिन, तर पनि चराको भाषा बुझ्न सक्छु भन्ने विश्वास छ,’ जुलीले भनिन् ‘त्यही विश्वासका साथ म चराहरुको अध्ययन गर्न नेपालको दाङ आएकी छु।’
जलवायु परिवर्तनको प्रभाव धेरै चरामाथि समेत परेको उनले बताइन्। गर्मीमा हिमाली क्षेत्रमा र जाडोमा तराईमा झर्ने तालचरीको बारेमा पनि उनीहरुले अध्ययन गर्ने डिल्लीबहादुर रावतले बताए।
‘उनीहरुको मुख्य अभियान चराहरुले कसरी शिकार तयार गर्छन् भन्ने पनि छ,’ रावतले भने ‘चरा सृष्टिको सुन्दर रचना हो र त्यो संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।’
चरा अध्ययन गर्न छात्रवृत्ति प्रदान
पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्र दाङले तुलसीपुरस्थित स्यालापानी सामुदायिक वनमा रहेका चरा र वनस्पती अध्ययन गर्न दुई जना विद्यार्थीलाई एक वर्षसम्म छात्रवृत्ति प्रदान गरेको छ।
प्यूठान जिल्लाका रविन्द्र घर्ती र नवलपरासी जिल्लाकी जानका तिवारीलाई जनही २५/२५ हजार छात्रवृत्ति उपलब्ध गराएर अनुसन्धान केन्द्रले तुलसीपुरको स्यालापानी सामुदायिक वनमा पाइने चरा र वनस्पतीको अध्ययन गर्न लगाएको हो।
उनीहरुले वर्ष दिन लगाएर गरेको अध्ययनबाट आफ्नो थेसिस तयार पारेका छन्। १ सय १२ प्रजातिका चरा र १ सय ५२ प्रजातिका वनस्पती तुलसीपुरका स्यालापानी सामुदायिक वनमा फेला परेको प्रतिवेदन तयार पारेका छन्। गणना गरिएकामध्ये कुनैपनि चरा तथा वनस्पतीको नाम भने सार्वजनिक गरिएको छैन।
यहाँ फेला परेका चराहरुको वैज्ञानिक नाम, अँग्रेजी नाम, स्थानीय नामहरु समेत उल्लेख गरेको प्रतिवेदन पुस्तक प्रकाशन गरेपछि मात्रै नाम सार्वजनिक हुनेछ।
पोर्चुगलबाट हाल पिएचडीको अन्तिम तयारीमा रहेका नवलपरासिका फडानन्द पौडेले घर्ती र तिवारीलाई सहयोग गरेका थिए।
‘यसरी एकै ठाउँमा चरा तथा वनस्पतीको अध्ययन भएको विरलै घटना हुनुपर्छ,’ रावतले भने ‘छात्रवृत्ति नै दिएर अध्ययन, अनुसन्धान गर्न लगाएको सायद नौलो हुनुपर्छ।’
आफूहरुको प्रयासले चरा तथा वनस्पती अध्यताहरुलाई ठूलो सहयोग पुग्ने र त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने रावतले बताए।
हालसालै सार्वजनिक भएको एउटा तथ्याङ्कले नेपालमा ८ सय ८६ प्रजातिका चराहरु रहेको देखाएको छ।
ती मध्ये दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ र १९ मा मात्रै १ सय १२ प्रजातिका चराहरु फेला परेका छन्। पर्यावरणीय दिगो विकास मञ्चले तुलसीपुरमा फेला परेका चराहरुको तस्वीर प्रदर्शन गर्ने अध्यक्ष डिल्लीवहादुर रावतले जानकारी दिए।