प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।
सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ। तर सभामुख पद रिक्त रहेको अवस्थामा उनले राजीनामा पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएकी हुन्। सभामुखको अर्थ 'बैठकको अध्यक्षता' गर्ने व्यक्ति हुन्छ। सभामुख र उपसभामुखले पदबाट दिने राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने सम्बन्धि कुनै व्यवस्था छैन।
राजीनामा बुझाउनअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन्।
संसदमा बोल्दै उनले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताइन्।
‘एकल महिला त्यसमाथि पनि आदिवासी जनजातिका रूपमा मैले दुई वर्ष जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च निकायमा काम गर्ने मौका पाएँ त्यसलाई मैले ठूलो अवसर ठानेको छु,’ उनले भनिन्,’अब म फरक रूपमा क्रियाशील हुनेछु। मलाई सहयोग गर्ने माननीय सदस्यहरू र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद।’
अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ।
उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन्।
सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।