सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सांसद अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि आजदेखि प्रतिनिधि सभाको बैठक सुचारू हुने भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्नुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्।
संसद सचिवालय स्रोतका अनुसार तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिनेछन् र त्यो राजीनामा आजै बस्ने बैठकमा सभामुखले पढेर सुनाउनेछन्।
तुम्बाहाङ्फेले राजीनामा दिएपछि जेष्ठ सदस्यले सभामुखको जिम्मेवारी सम्हाल्नेछन्।
संसद सचिवालयको रेकर्डका आधारमा जेष्ठ सदस्यको निर्धारण हुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले सेतापाटीलाई बताए।
यसअघि २०७४ सालमा प्रतिनिधि सभाका सदस्यलाई महन्थ ठाकुरले सपथ खुवाएका थिए। त्यसैले ठाकुर नै जेष्ठ सदस्यको हैसियतले सभामुख बन्नेछन्।
जेष्ठ सदस्यले सपथ लिन पर्ने की नपर्ने भन्नेमा सचिवालय अन्यौलमा छ। यस विषयमा छलफल चलिरहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सेतोपाटीलाई बताए।
राष्ट्रिय सभाका सांसद एवम् वरिष्ठ अधिवक्ता रामनारायण विडारीले जेष्ठ सदस्यले यसअघि नै सपथ लिइसकेकाले लिन जरुरी नभएको बताए।
सभामुखको हैसियतमा जेष्ठ सदस्यले नै संसदको बैठक चलाउने र त्यही बैठकबाट निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने योगीले बताए।
निर्वाचनको कार्यतालिका र मिति कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने उनले जानकारी दिए।
अहिलेसम्म कार्यव्यवस्था परामर्श समतिको बैठक नबोलाइएको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सेतोपाटीलाई बताइन्।