नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ। सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोड थियो।
आइतबार बिहान बालुवाटार मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अध्यक्ष दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।
असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको आरोप पछि पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए।
त्यसयता संसदको नेतृत्व उपसभामुख तुङ्गबाहाम्फेले गर्दै आएकी थिइन्। उनले पनि आफू सभामुख हुन पाउनुपर्ने दाबी गर्दै आएकी थिइन्। दाहालले सुरूदेखि नै पार्टी एकीकरण हुँदा भएको भागबण्डा अनुसार सभामुख पूर्व माओवादीले पाउनुपर्ने भन्दै आएका थिए।
को हुन अग्नि सापकोटा ?
नेकपाबाट सभामुखका लागि उमेदवार बनाइएका अग्नि सापकोटा सिन्धुपाल्चोकबाट ३ पटकसम्म निर्वाचित सांसद हुन। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।
२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। २०३५ सालमा नेकपा (चौम) बाट राजनीति सुरु गरेका हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका सापकोटा १५ वर्षसम्म शिक्षक भएका थिए।
नेकपाको स्थायी समिति सदस्य रहेका ६२ वर्षिय सापकोटा यसअघि दुई पटक मन्त्री भइसकेका छन्। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री बनेका थिए भने २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा वन मन्त्री बनेका थिए।
२०५१ असोजमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेका सापकोटा २०५२ माघदेखि भूमिगत भएका थिए। सापकोटा २०५८ सालमा तत्कालीन नेकपा माओवादीको तर्फबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीका सदस्य रहेका थिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनुभन्दा पहिला पनि उनी माओवादी केन्द्रका स्थायी समिति सदस्य थिए। सापकोटा जनयुद्धकादेखि नै प्रचण्डको निकट भएर काम गरेका नेता हुन्।