प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली स्थायी कमिटी सदस्य अग्नि सापोटालाई सभामुख बनाउन सकारात्मक भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा सापकोटालाई सभामुख बनाउन ओली सकारात्मक भएको स्रोतको भनाइ छ।
'मैले पनि सापोटाजीको नाममा सहमति भएको सुनेको छु। अन्तिम निर्णय त सचिवालयले गर्छ होला,' प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने, 'सापकोटाका पक्षमा प्रधानमन्त्री सकारात्मक हुनुभएको भन्ने मैले थाहा पाएँ।'
सभामुखबारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक ४ बजे बालुवाटारमा बस्दैछ। सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच बिहानको भेट सकारात्मक भए पनि सभामुख बन्ने व्यक्तिबारे थप छलफल हुने बताए।
सभामुख चयनमा दुई अध्यक्षबीच लामो रस्साकस्सी चलेको थियो।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक एक महिनादेखि अवरुद्ध छ।
पूर्वमाओवादी पक्षधर नेताहरुले सभामुख पद आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका थिए। विगतमा शक्ति बाँडफाँडका क्रममा सभामुख पूर्वमाओवादीलाई परेकाले यसलाई नै कायम गर्नुपर्ने उनीहरुको दावी थियो।
अध्यक्ष प्रचण्डलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले पनि साथ दिँदै आएका थिए। शक्ति सन्तुलनका दृष्टिकोणले पनि सभामुख पूर्वमाओवादी पक्षधर नेताहरुलाई दिनुपर्ने नेपाल पक्षको तर्क छ। यद्धपि नेपाल समूह यस विषयमा मौन छ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको दावी गर्दै आएकी छन्।
एक साता अगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा गर्न भनेको थियो। तर तुम्बाहाङफेले सभामुखको उमेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिदै आएकी छन्।
गत असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा जेलमा छन्। त्यसयता सभामुख पद रिक्त छ। प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्दैछ।