सभामुख चयनको विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको छलफल सकरात्मक बन्दै गएको छ।
दुई अध्यक्षबिच आज पनि छलफल हुने भएको छ। छलफलको समय भने तय भइसकेको छैन।
'दुई अध्यक्षबीच बिहीबार भएको छलफल सकरात्मक दिशामा गएको छ।उहाँहरुले विभिन्न विकल्पमा छलफल गर्नुभएको छ',श्रोतले भन्यो,'आजको छलफलले सहमतिको आधार तय गर्न सक्छ।'
बिहीबारको भेटमा दुई अध्यक्षले विभिन्न विकल्पबारे छलफल गरेका थिए।
'दुई अध्यक्षबिच कसलाई सभामुख बनाउने भन्नेमा त छलफल भइसकेको छैन। तर संभावित विकल्पबारे राम्रोसँग कुराकानी भएको छ। यसले छिट्टै सकरात्मक नतिजा दिनेमा आशावादी छौ।
'नेकपा स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले सेतोपाटीसँग भने,'यसअघिका छलफलहरु कता कता अलमलिएका जस्ता हुन्थे तर बिहिबारको छलफल त्यस्तो छैन। सहमति पहिल्याउनेतर्फ केन्द्रित छ।'
उपसभामुखले राजिनामा दिने सम्बन्धमा पनि दुई अध्यक्षबिच कुनै बिमति नरहेको गजुरेलले दाबी गरे।
'नेकपाले सभामुख अरुलाई दिने कुरै भएन। हामीले सभामुख लिनका लागि उपसभामुखले राजिनामा दिनैपर्छ', गजुरेलले भने 'सभामुखको निर्वचानका लागि उपसभामुखले राजिनामा दिने विषय प्रचण्डको मात्रै होइन। यसमा दुवैको एकमत छ।'
दुई अध्यक्षबिच चार दिनपछि बिहिबार भेट भएको हो।
आइतबार दुई अध्यक्षले उपसभामुख शिवमाया तुम्बाहङफेलाई राजिनामा दिन आग्रह गरेका थिए। तर तुम्बाहाङफेले सभामुखको उमेदवार तय नगर्दासम्म राजिनामा नदिने जवाफ दिएकी थिइन्।
यसैगरी नयाँ संसदको बैठक ६ गतेका लागि बोलाइएको छ।
गत पुस ४ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको हो। सभामुख चयनमा सहमति नजुट्दा संसद बैठक पटकपटक सूचना टासेर स्थगित हुँदै आएको छ।
पूर्व माओवादी पक्षधर नेताहरुले प्रधानमन्त्री ओलीका कारण उपसभामुखको राजिनामामा ढिलाइ भएको आरोप लगाएका थिए।
प्रधानमन्त्री निकट नेताहरुले भने भैसेपाटी भेलाको कारणले परिस्थिति बिग्रिएको आरोप लगाउदै आएका छन्।
एक साता अगाडि नेकपा सचिवालय सदस्य वामदेव गौतमको भैसेपाटीस्थित निवासमा अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए। त्यो भेलालाई प्रधानमन्त्री ओलीले आफुविरुद्धको मोर्चाबन्दीका रुपमा लिएका छन्।
माधव नेपाल पक्षधर नेताहरु भने सभामुख चयन प्रक्रियामा मौन रहेका छन्।यद्धपि वरिष्ठ नेता नेपालले पूर्व माओवादी पक्षधरले नै सभामुख पाउनु पर्ने धारणा आफु निकट नेताहरुसँग राख्ने गरेका छन्।