सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा नेत्रविक्रम चन्द विप्लव समूहले कब्जा गरेर कब्जा नहुने बताएका छन्।
सरकारले ललिता निवासको जग्गा छानबिन गरिरहेको पनि उनले बताए। ‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार बाँस्कोटाले भने, ‘नेपाल सरकार आफैंले त्यसउपर छानबिन गराइरहेको छ। त्यो जग्गा जसले जे भने पनि नेपाली जनता र सरकारको जग्गा हो।’
उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिहरूलाई दिन नसकिने पनि बताए।
‘जसको जग्गा परे पनि व्यक्तिहरूलाई दिन सकिँदैन,’ उनले भने।
विप्लवले चर्चामा आउनका लागि मात्रै यस्ता गतिविधि गरेको पनि उनले बताए।
‘सार्वजनिक चर्चामा आएको विषयमा एक्सन लिएर शक्तिशाली देखिने भन्ने हुन्छ। कब्जा गर्ने भए त्यही बसेर झण्डा गाड्ने हो कि, सिंहदरबार नै कब्जा भो कि, प्रधानमन्त्री निवास नै कब्जा भो कि,’ उनले भने, ‘यो भ्रमहरू हो। गतिविधि लुकेर गर्ने हुनसक्छ। यो लुकेर हमला गर्ने छिपेर हमला गर्ने यसले उहाँहरूलाई राम्रो गर्दैन।’
उनले जनताका सम्पत्तिमा क्षति पुर्याउने, टावर आगजनी गर्ने क्रियाकलाप आतंकवादी क्रियाकलाप भएको पनि बताए।
‘यो आतंकवादी क्रियाकलाप हो,’ उनले भने, ‘झण्डा गाडेर केही हुनेवाला छैन। सरकारले जोगाउन लाग्या भए पो बहादुरी। यो हो-हल्लाको विषय मात्रै। यस्ता गतिविधिलाई मिडियाले प्राथमिकता दिएको छैन,’ उनले भने।