प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गरिने बताएका छन्।
आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताएका प्रचण्डले भने, ‘रेशमलाई छुटाइन्छ हेर्नुहोला।’
टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा थुनामा छन्।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।
प्रचण्डले चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताए।
‘सभामुख र पार्टीलाई भनेर रेशमलाई सपथ खुवाउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने मै हुँ,’ प्रचण्डले भने।
उनले आफूले पहिचान आन्दोलन नभुलेको पनि दाबी गरे।
आन्दोलन जारी छ, चौतारीमा सुस्केरा मारेको मात्रै हो
अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्न सकिने बताए।
‘संविधान बनाउने बेला पार्टीको तर्फबाट अध्यक्षको हैसियतले यति संविधानले पुग्दैन। आदिवासी जनजाति, मुस्लिम, थारू, दलित र महिलाका निम्ती थप अधिकार छ भनेर संविधानमा रिजरभेसन राख्ने नेतृत्व मैले गरेको हेक्का राखिदिनुपर्छ,’ उनले भने, ‘तपाईंहरूले हेक्का राखिदिनुभएन भने त्यो असत्य हुन्छ।’
उनले अधिकार प्राप्ति आन्दोलन जारी रहेको पनि बताए। ‘हामी चौतारीमा सुस्केरा मारिरहेका छौं तर हाम्रो आन्दोलन जारी राखेका छौं,’ उनले भने, ‘तपाईंहरू पूर्ण मुक्ति नहुँदासम्म म ऋणी छु।’
थारू समुदायले उठाएका मागबारे नेतृत्व तहमा बस्नेमध्ये आफूले धेरै बुझेको प्रचण्डको दाबी छ। ‘तपाईंहरूका कुरा सायद नेतृत्व तहमा बुझ्ने भित्र म पर्छु,’ उनले भने, ‘झुठा मुद्दा खारेजको आन्दोलन जारी छ भन्ने म भन्न चाहन्छु।’
उनले थारू समुदायलाई आवाज बुलंद गर्दै जान पनि आग्रह गरे।
‘तपाईंहरूले आवाज बुलंद गर्दै जानुस्। समस्या समाधान गर्न शान्तिपूर्ण आन्दोलन र संवाद गर्न जरूरी छ,’ प्रचण्डले भने।