लन्डनको म्याडम टुसाड्स संग्रहालयमा रहेको शाही परिवारको सेटबाट राजकुमार र राजकुमारीको मूर्ति हटाइएको छ।
राजकुमार ह्यारी र राजकुमारी मेघन शाही परिवारको वरिष्ठ सदस्यताबाट बाहिरिएसँगै संग्रहालायबाट उनीहरुको मूर्ति हटाइएको हो।
उक्त संग्रहालयमा मोडल तथा सेलिब्रेटीहरुको २५० भन्दा बढी मूर्तिहरु रहेका छन्। ति मूर्तिहरु मैनबाट बनाइएको छ। अब राजकुमार ह्यारी र राजकुमारी मेघनको मूर्ति शाही परिवारको सेटभन्दा छुट्टै स्थानमा राखिने संग्रहालयले जनाएको छ।
‘विश्वका अन्यले जस्तै राजकुमार–राजकुमारी शाही परिवारबाट हट्नेबारे हामीले पनि आश्चर्य मानेका छौं,’ संग्रहालयका प्रबन्धक स्टिभ डेभिसले भने, ‘अबदेखि शाही सेटमा मेघन र ह्यारीको मूर्ति सँगै राखिने छैन।’
उनका अनुसार महत्वपूर्ण व्यक्ति भएका कारण उनीहरुको मूर्तिलाई छुट्टै स्थानमा राखिने छ। गत वर्ष राजकुमार ह्यारी र राजकुमारी मेघनको विवाहपछि संग्राहलयमा मूर्ति राखिएको थियो।
उनीहरुको मूर्ति बनाउन एक लाख ९५ हजार अमेरिकी डलर लागत लागेको थियो।