संसदको विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको संसदको पूरानो भवन भत्काउन निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले नयाँ भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएको हो।
समितिको बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारी र राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले सिंहले ग्यालरी बैठक भएको भवनलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माण गर्न नसकिने बताएका थिए।
बैठकमा बोल्दै कांग्रेस सांसद रंगमती शाहीले सांसदहरू हिँड्ने बाटोमा खतरा रहेकाले यसको पुनर्निर्माणको लागि ढिलाइ गर्न नहुने बताइन्।
नेकपाका सांसद यज्ञराज सुनुवारले भवनलाई थोत्रो बनाएर बेबारिसे छाड्न नहुने बताए।
रेट्रोफिटिङ गर्न नसकिने भएपछि यसलाई भत्काएर नयाँ बनाउन समितिले निर्देशन दिएको हो।
नयाँ बन्ने भवन पूरानै शैलीमा बनाउन निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले बताइन्।
पूरानो प्रतिनिधि सभा, ग्यालरी बैठक रहेको भवन अहिले अलपत्र अवस्थामा छ। २०७२ सालको भूकम्पपछि भवनलाई यतिकै राखिएको छ। भवनमा पानी पसिकेकाले यसलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माण गरिए यसको प्रयोग गर्न नसकिने भएकाले समितिले नयाँ भवन बनाउन निर्देशन दिएको हो।
२०१५ सालको पहिलो संसददेखि संसद भवनका रूपमा प्रयोग गरिएको यो भवन २०६२\०६३ को अन्तरिम संसदको बैठकका लागि प्रयोग गरिएको थियो।
२०६४ मा संविधान सभाको निर्वचान भएपछि भने बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद सचिवालयले भाडामा प्रयोग गर्दै आएको छ।
६०१ सदस्यीय संविधान सभाको बैठक त्यहाँ बस्न सम्भव नहुने भएपछि बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रोजियो।
अहिले पनि संसदको बैठक बानेश्वरमै बस्छ।
नयाँ संसद भवन बनाउन सिंहदरबारस्थित पुतली बगैंचामा तयारी भए पनि काम अगाडि बढ्न सकिएको छैन। त्यो ठाउँमा अहिले सेना बसिरहेको छ। अहिले रक्षा मन्त्रालय रहेको ठाउँमा सेनालाई सारेपछि मात्रै संसदको नयाँ भवन निर्माणको काम सुरू हुने सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले बैठकमा जानकारी दिए।
रक्षा मन्त्रालय रहेको भवन भूकम्पले भत्काएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ।
भूकम्पका कारण रक्षा मन्त्रालय प्रभावित भएपछि सुरक्षा परिषद रहेको भवनमा रक्षा मन्त्रालयलाई सरिएको थियो। संसद भवन बनाइने भनिएको ठाउँमा सेना भएकै कारणले भवन बनाउने काम अगाडि बढ्न सकेको छैन।