नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाका टावरमा आक्रमण नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको बताउँदै प्राधिकरणले त्यस्ता कार्य बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको हो।
‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरूमा पर्ने हुन्छ। नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षति नपुर्याउन र त्यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
अज्ञात समूहले दिनहुँजसो मोबाइलका टावरमा आगजनी गरिरहेको छ। आज मात्रै काठमाडौंका दुई स्थानमा एनसेलका टावरमाथि आक्रमण भएको छ।