विवेकशील नेपाली दलले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार सदनमा दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको बताएको छ।
प्रदेश राजधानी प्रस्ताव छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गर्दा विवेकशील संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यप्रति मुख्यमन्त्री पौडेलले दिएको अभिव्यक्ति संसदीय अभ्यासको मर्मविपरीत रहेको विवेकशीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘मुख्यमन्त्रीले अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी सांसद नै नरहन सक्नुसम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्यप्रति खेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौं,’ विवेकशीलकी उपाध्यक्ष अजिता राईले निकालेको विज्ञप्तिमा भनिएको छ।
मुख्यमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन पनि विवेकशीलले माग गरेको छ।
मुख्यमन्त्रीमा दलीय दम्भसमेत देखिएको विवेकशील पार्टीको आरोप छ। ‘मेरो सचिवालयले गरेको निर्णयको विरोध गर्ने हैसियत कसले राख्न सक्छ यहाँ?’ भन्ने मुख्यमन्त्रीको अभिव्यक्तिमा दलीय दम्भ छचल्किएको छ,’ विवेकशीलले भनेको छ।
विवेकशीलले साझा पार्टीसँग मिलेर प्रदेश राजधानी काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गरे पनि अस्वीकृत भएको थियो।
‘फरक मत व्यक्त गरेकै कारण आफू सरह लोगो लगाएर संसदको बैठकमा भाग लिइरहेको सांसदलाई होच्याउने गरी मुख्यमन्त्रीले अभिव्यक्ति दिनुले सत्ताको असहिष्णु चरित्रलाई उदांगो पारेको छ,’ राईले निकालेको विज्ञप्तिमा भनिएको छ।
सचिवालयको सर्वोपरी नै सर्वोच्च रहने भए संघीयता किन चाहियो? भन्ने प्रश्न पनि नेकपालाई विवेकशीलले सोधेको छ।
‘मुख्यमन्त्रीजीलाई तपाईंको सचिवालयले गरेको निर्णयको विरोध गर्ने हैसियत सार्वभौम नागरिकमा रहेको व्यहोरा विनम्रतापूर्वक स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।