सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपाल पश्चिम नवलपरासी शाखामा आवद्ध पत्रकारहरूले प्रदेश नम्बर ५ का मन्त्रीसँग सपथ खाएका छन्।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीसँग पत्रकारहरूले शनिबार सपथ खाएका हुन्।
पार्टी एकीकरणसँगै नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी र नेकपा माओवादी निकट पत्रकारको संस्था प्रेस सेन्टर पनि एक भएर प्रेस संगठन नेपाल बनेको हो।
दुई संगठनको समायोजनपछि बनेको पहिलो जिल्ला शाखामा आवद्ध पत्रकारलाई मन्त्री चौधरीले सपथ खुवाएका हुन्।
प्रेस संगठनमा आवद्ध पत्रकारहरू मुठ्ठी कसेर सथप खाइरहेका फोटो सार्वजनिक भएको छ। नेकपा प्रदेश ५ का सहईञ्चार्ज र पश्चिम नवलपरासीका जिल्ला ईञ्चार्जसमेत रहेका मन्त्री चौधरीले पत्रकारहरूलाई सपथ खुवाउँदै पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने बताए।
मन्त्रीबाट सपथ खाइरहेको फोटो प्रेस संगठन जिल्ला शाखाका सहसंयोजक मोहन पौडेलले फेसबुकमा राखेका छन्। यहाँ १९ सदस्यीय समिति छ। प्रेस सेन्टरले संयोजक र प्रेस चौतारीले सहसंयोजक लिएर समायोजन गरिएको थियो। सपथमा १७ जना पत्रकार उपस्थित थिए।
हालै प्रेस संगठनको केन्द्रीय कमिटीलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ खुवाएका थिए।