उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूलाई पार्टीको निर्णयबारे कुनै जानकारी नभएकोले भोलिको बैठक चलाउने तयारीमै रहेको प्रतिक्रिया दिएकी छन्।
सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै उपसभामुख तुम्बाहाङ्फेले अहिलेसम्मको तालिका अनुसार नै आफू अगाडि बढ्ने बताएकी हुन्।
‘पार्टीको औपचारिक निर्णय आएको छैन, भोलिको बैठक सुचारू हुन्छ’, उनले भनिन्।
पार्टीको औपचारिक निर्णय आफूले हात पारेपछि मात्रै त्यसबारे आफूले निर्णय लिने उनले बताइन्।
स्रोतका अनुसार पार्टीले सभामुखको उम्मेदवार तय गरेपछि मात्र उनले राजीनामा दिने तयारी गरेकी छिन्।
त्यो अवस्था आयो भने भोलिको बैठक पनि सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले शनिबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको थियो।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाङ्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन्।
तर अध्यक्षद्वय ओली र प्रचण्डका पनि आफ्नै उम्मेदवार छन्।
ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन्।
पम्फा भुसालको नाम पनि चर्चामा छ।
आइतबार प्रतिनिधिसभा बैठक डाकिएको छ।
यो पनि:
दुई अध्यक्षले उपसभामुखको राजीनामा मागे, शिवमायाले मानिनन्
ओली र प्रचण्डले गरे उपसभामुखसँग छलफल
दुई अध्यक्षले सल्टाउन नसके सभामुखको विषय सचिवालयले टुंग्याउछ: झलनाथ खनाल
उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय