शुक्रबार इराकको राजधानी बग्दादमा भएको ड्रोन आक्रमणमा आफ्ना एक महत्वपूर्ण सैन्य प्रमुख मारिएपछि इरानले त्यसको अमेरिकासँग बदला लिने बताएको छ।
इरानी कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको मृत्युपछि इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीबाट आएको यस प्रतिक्रियाले इरान-अमेरिकाबीच ४० वर्षदेखि रहँदै आएको तिक्तातापूर्ण सम्बन्ध थप संकटमा परेको छ।
यसअघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा दुबै देशबीचको सम्बन्धमा केही सुधार आएको भए पनि डोनाल्ड ट्रम्प सत्तामा आएपछि बिग्रिन थालेको सम्बन्ध सुलेमानीको हत्यासँगै युद्धको अवस्थामा आइपुगेको छ।
आफ्ना प्रमूख व्यक्ति मारिएपछि त्यसको बदला लिने बताएको इरानले आफूले सञ्चालन गर्दै आएका आणविक कार्यक्रममा यसअघि भएको सम्झौताबाट पछि हटेको घोषणा गरिसकेको छ।
![Image result for qasim sulemani](https://pbs.twimg.com/media/ENW2JZ2XYAYAnqT.jpg)
उता दोश्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बन्ने योजनामा रहेका ट्रम्पले कडा बदला लिने इरानको प्रतिक्रियाको जवाफमा झन् कडा हमला गर्ने चेतावनी दिएका छन्।
अमेरिकी नागरिक तथा सम्पत्तिमाथि इरानले आक्रमण गरे इरानका सांस्कृतिक तथा अन्य महत्वपूर्ण ५२ स्थानहरुमा हमला गरेर बदला लिने ट्रम्पको भनाइ छ।
यस्तोमा दुबै देशबीच कुनै पनि बेला सैन्य प्रतिरोध हुनसक्ने चिन्ता व्याप्त छ।
अमेरिका विश्वशक्ति राष्ट्र भएकाले त्यसको सबैभन्दा ठूलो असर र प्रभाव इरानलाई पर्ने ठानिएको छ। यसअघि अफगानिस्तान र इराकमा भएको अमेरिकी हस्तक्षेपबाट पनि यो प्रमाणित भएकाले इरान पनि सोही अवस्थामा नपुग्ला भन्न सकिन्न।
धेरैमा प्रश्न छ-अमेरिकी आक्रमणको प्रतिरोध गर्न इरान कति सक्षम छ र नाकाबन्दीले पेलिएको इरानको सैन्य बल कति छ?
![Image result for iran army](https://ichef.bbci.co.uk/news/976/cpsprodpb/11C22/production/_110383727_iranmilitaryparade.jpg)
इन्टरनेशनल इन्स्टिच्युट फोर स्ट्रटिजिक स्टडिजलाई उद्धृत बिबिसीले इरानसँग पाँच लाख २३ हजार सक्रिय सेना रहेको उल्लेख गरेको छ जसमा साढे तीन लाख सेना र इस्लामिक रेभुलसनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान छन्।
यस्तै आईआरजीसीको जलसेनामा थप २० हजार सैनिक छन् भने आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण रहेको बिबिसीले जनाएको छ।
त्यसैगरी इरानी सेनासँग क्षेप्यास्त्र पनि छ।
प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व भएको बिबिसीले जनाएको छ।
उसँग लामो र मध्यम दूरीका क्षेप्यास्त्र छन्। तिनले मध्यपूर्वमा अमेरिकी साझेदार देशहरू इजरायल,साउदी अरब तथा युएईसम्म मार हान्न सक्छन्।
यस्तै इरानसँग अस्त्रयुक्त आधुनिक ड्रोनहरू पनि छ। इराकमा इस्लामिक स्टेटविरुद्धको लडाइँमा इरानले तिनको राम्रै प्रयोग गरेको थियो।