दंगिशरण गाउँपालिका वडा नं. ५ मिरौली निवासी ३१ वर्षीया सिर्जना केसी नाता प्रमाणितको कामले वडा कार्यालय जाँदा उनको काम भएन।
आइतबार दिउँसो साढे १ बजेतिर वडा कार्यालय प्राङ्गढमा भेटिएका ६८ वर्षीय ज्योतिप्रसाद न्यौपाने नागरिकता हराएपछि प्रतिलिपि लिनको लागि सिफारिस बनाउन आएका थिए। उनको पनि काम भएन।
स्थानीय ५७ वर्षीय एकलाल गिरीले चार दिनदेखि नाता प्रमाणितको काम लिएर निरन्तर कार्यालय धाउँदा पनि काम नभएको बताए ।
वडा अध्यक्ष दिपक गौतम, कार्यालय सचिव प्रेमप्रसाद चौधरी लगायतका अधिकांस जनप्रतिनिधि पुस ८ गते कार्यालय बन्द गरेर कृषि भ्रमणमा गएकाले सेवाग्राहीको काम गर्ने कोही थिएन।
गिरीले आइतबार मात्रै एकजना सदस्य आएर कार्यालय खोलेको र त्यसअघि कार्यालयमा ताल्चा लागेकाले आफू फर्कनु परेको बताए।
काम नभए पनि वडा कार्यालयमा दिउँसो सेवाग्राहीको बाक्लै भीड थियो। त्यो थाहा पाएर आइतबार वडा कार्यालय खोल्न दंगिशरण गाउँपालिकाकी कर्मचारी चन्द्रा वलीलाई गाउँपालिकाका अध्यक्ष भगिराम चौधरीले पठाएपछि कार्यालय खुलेको हो। तैपनि वडा अध्यक्षको कार्यकक्षमा ताला लागेकै थियो।
‘मलाई सरले जानुस कार्यालय खोलेर बस्नुहोला भनेपछि म आएकी हुँ,’ वलीले भनिन् ‘जिम्मेवारी खास केही दिइएको छैन। त्यसैले मैले कुनै काम गर्न सक्दिन।’
उनले एकदिन आफू आएकाले कागज पत्र कहाँ छन्? भन्ने कुराको समेत आफूलाई जानकारी नभएको प्रतिक्रिया दिइन्।
कृषि भ्रमणका नजाने एक मात्रै वडा सदस्य ६१ वर्षीया लिलावती परियारले वडा अध्यक्षले कार्यबहाक अध्यक्षको जिम्मेवारी वा काम गर्ने कुनै अख्तियारी नदिएको बताइन्। यदी कुनै अख्तियारी दिएको भएपनि उनले केही गर्न सक्ने अवस्था छैन। कारण उनले लेखपढ गर्न सक्दिनन्। ‘म लेखपढ गर्न सक्दिन र केही गर्न जान्दिन,’ परियारले भनिन् ‘मैले ढोका खोलिदिएकी छु’
परियारले ५ दिनदेखि वडा कार्यालयमा कुनै काम हुन नसकेको भएपनि आफूले ढोका खोल्दै आएको जानकारी दिइन्।
प्रतिशोध साँध्न गलत प्रचार भयो – वडा अध्यक्ष
कृषि भ्रमणमा रहेका वडा अध्यक्ष गौतमले भित्रे पात्रोमा ‘क्रिसमस डे’लाई विदा लेखेको हुँदा र त्यस बीचमा शनिवार पनि पर्ने हुँदा विदाको समयमा कृषि भ्रमणमा आएको जानकारी दिए। ईलाम, चितवन लगाएतको भ्रमण सकेर आफूहरु फर्किदै गरेको जानकारी दिएका वडा अध्यक्ष गौतमले प्रतिसोध साँध्न प्रतिपक्षले गलत प्रचारबाजी गरेको भन्दै फोनमा आक्रोश पोखे।
‘नेपाली काँग्रेसका केही व्यक्तिहरुले आफूसँगको रिसिवी साँध्न गतल प्रचार बाजी गरेर भ्रम सृजना गर्न खोजिरहेका छन्,’ अध्यक्ष गौतमले भने ‘हामी फर्केपछि त्यसको सबै हिसाव किताव हुने छ।’ त्यस्तै उनले त्यहाँ गएकामध्य अधिकाँस नेपाली काँग्रेसका कार्यकर्ता सेवाग्राहीको रुपमा गएर बदनाम गर्न खोजेको दाबी गरे।
उनले कार्यालयमा नयाँ कर्मचारी आएका कारण यो बीचमा सेवाग्राहीको काम हुन नसकेको भने स्वीकार गरे।