आइतबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको दृश्य अरू बेलाभन्दा फरक देखियो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सँगसँगै राखिएका दुई कुर्सीमा बसे।
कार्यकारी अध्यक्ष बनेको एक महिनापछि प्रचण्डको कुर्सी ओलीसँगै राखिएको हो।
सचिवालय बैठकमा पहिले प्रचण्ड बरिष्ठ नेता झलनाथ खनालको छेउमा बस्थे।
‘दुबै अध्यक्षसँगै बसेर दुबै अध्यक्ष एकै हो भन्ने सन्देश दिन खोजिएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीसँग भने।
मंसिर ५ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष हुने र ओली नेतृत्वमै पाँच वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्री बन्ने लिखित सहमति भएको थियो।
सचिवालय बैठकले दुबै अध्यक्षको कार्यविभाजन पनि प्रष्ट पारेको थियो। प्रचण्डको अध्यक्षतामा बस्ने सचिवालय बैठकका एजेन्डा अर्का अध्यक्ष ओलीसँग छलफल गरी तय गरिनु पर्ने उल्लेख छ। बरियतामा भने ओली प्रचण्डभन्दा अघि छन्।
कार्यकारी बनेपछि प्रचण्डले सचिवालय बैठक बोलाएका थिए। पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।