राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश दुईमा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच भएको सहमतिले समाजवादी पार्टी सशंकित बनेको छ।
निर्वाचनका लागि आफूहरूसँग छलफल नै नगरी हतार-हतार भएको सहमतिले आफूहरू आश्चर्यचकित भएको समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले सेतोपाटीलाई बताए।
'प्रदेश दुईमा संयुक्त सरकार छ। विगतमा पनि हामी निर्वाचनमा सँगै भाग लिएको हो,' यादवले भने, 'हामी सँगै जान सक्थ्यौं। राजपाले अलि हतार गर्यो।'
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपाबीच सहमति भएको छ। प्रदेश २ मा रिक्त हुने ४ स्थानका लागि दुई पार्टीले बुधबार भागबण्डा गरेका छन्। जसअनुसार पुरुष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त २ स्थानमा राजपाका उमेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ भने महिला र दलित पुरुषका लागि दुई स्थानमा नेकपालाई राजपाले सहयोग गर्ने सहमति भएको छ।
राष्ट्रिय सभामा राजपाको दुई स्थान खाली हुँदैछ भने नेपाली कांग्रेस र समाजवादी पार्टीको एक-एक स्थान खाली हुँदैछ। दुई दलको गठबन्धनले निर्वाचन जित्यो भने राजपाले खाली भएको स्थानमा आफ्नै सांसद पठाउन पाउनेछ भने नेकपालाई दुई सांसद फाइदा हुनेछ।
'हाम्रो एक स्थान गुम्थ्यो होला तर राजपाले कुरा गरेको भए हुन्थ्यो नि। एकातिर पार्टी एकताको कुरा गर्ने अनि अर्कोतिर चुनावी एकता अर्कैसँग गर्दा राम्रो सन्देश जादैन,' यादवले भने, 'प्रदेश दुईको सत्ता गठबन्धनमा यसले कुनै असर गर्दैन भन्ने मेरो विश्वास छ।'
राष्ट्रियसभा निर्वाचनका लागि गरिएको गठबन्धन भएकाले संघीय सरकारमा यसले कुनै असर नपार्ने यादवले बताए। राजपाका महासचिव केशव झाले निर्वाचनका लागि मात्रै गठबन्धन गरिएकाले पार्टी एकता प्रक्रियालाई असर नगर्ने उनले बताए। प्रदेश दुईको सरकारलाई पनि असर नपार्ने उनले बताए।
'कांग्रेससँग तालमेल गर्न समाजवादी तयार भएन। गणितीय दृष्टिले पनि हामीले नेकपासँगै तालमेल गर्नुपर्थ्यो। यस्तो नगरेको भए हाम्रो दुई स्थान जान सक्थ्यो,' झाले भने, 'उपनिर्वाचन क्रममा स्थानीय तहमा पनि समाजवादीसँग मात्रै तालमेल गर्दा नतिजा राम्रो आएन। यद्यपी यो चुनावी तालमेल मात्रै हो।'
एक महिनाअगाडि मन्त्रिपरिषद पुनर्गठनक्रममा प्रधानमन्त्री केपी ओलीले समाजवादीतर्फबाट स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा पठाएका थिए। त्यतिबेला यादव भारत भ्रमणमा थिए। यादवलाई कानुनमा पठाएसँगै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्रीले हटाएका थिए।
अहिले समाजवादीकातर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री छन् भने मोहम्मद इस्तिहाक राई सहरी विकासमन्त्री छन्।
सरकार र सत्तारुढ दलसँग भएको सहमतिलाई राजपाका एक नेताले 'आइस ब्रेक' भनेका छन्।
'हाम्रोबीचमा आइसब्रेक भएको छ। अब सहमतिको यात्रा सुरू हुने सम्भावना बढेको छ,' ती नेताले भने, 'अबका दिनमा सरकार र सरकारको नेतृत्व गरेको दलसँग हाम्रो सम्बन्ध थप बलियो हुनसक्छ।'
समाजवादी पार्टी एक्लैले नेकपासँग तालमेल गरेर अघि बढ्ने संकेत देखाएपछि आफूहरूले नेकपासँग सहमति गरेको ती नेताको तर्क छ।
समाजवादीका एक नेताले भने, नेकपा-राजपा सहमतिले समाजवादीलाई एक्ल्याउने संकेत हुन सक्ने बताए।