राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने बताएका छन्।
१३ औं संसद् सेवा दिवसको अवसरमा नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारबाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ।’
उनले थपे,‘सांसद र कर्मचारी एकअर्काका पुरक हुन्। एकअर्काको सहयोगबिना पूर्णता हुँदैन। नूनको सोझ मात्रै नगरौं, जिम्मेवार भएर काम गरौं।’
त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाङफेले कहिलेकाहीँ केही काम विशेषमा ढिला सुस्ती देखिए पनि समग्रमा संसद् सेवाका कर्मचारीको कामको गति राम्रो रहेको बताइन्।
उनले भनिन्, ‘संसद् सेवाका कर्मचारीकै मिहिनेतका कारण संसद्को पाँचौं अधिवेशनको पूर्वतयारी काम भइसकेको छ, हामी कानुन बनाउने थलोमा छौं, सबै चनाखो भएर कर्तव्य पूरा गर्नुपर्छ, कर्मचारीले गर्ने कामले सांसदको भूमिका प्रभावकारी हुनेछ।’
समारोहमा २०७५/०७६ मा उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना राष्ट्र सेवकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।
एक लाख नगद राशीको संसद सेवा सर्वोत्कृष्ट पुरस्कार उपसचिव दशरथ धमलाले प्राप्त गरे भने ७५ हजार नगदसहितको संसद सेवा उत्कृष्ट पुरस्कार नायब सुब्बा रेणुका सुवेदीले प्राप्त गरिन्। त्यस्तै जनही ५०/५० हजार राशीको संसद सेवा पुरस्कार कार्यालय सहयोगी जङ्गबहादुर मगर र प्राविधिक गम्भीरमान सिंहले प्राप्त गरेका छन्।