नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहराटार जाँदैछन्।
दुई दिन अघि बसेको केन्द्रीय समिति बहिष्कार गरेका पौडेललाई सहमतिमा ल्याउन देउवा पौडैलकै निवास जान लागेका हुन्।
देउवा र पौडेलबीच शनिबार विहान ११ बजे भेटघाट हुने कार्यक्रम तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन्।
साथै पार्टी विभाग गठनमा पनि पौडेलको असहमति छ। सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलको आरोप छ।
सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गत बिहीबार बसेको केन्द्रीय समितिमा पेश गरेका छन्। आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुनेछ।
भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले चासो राखेको छ। पौडेलले यी दुई भातृ संस्थामध्ये एक आफू पक्षले पाउनुपर्ने अडान राखेका छन्।
यी समग्र विषयमा पौडेलसँग छलफलका लागि देउवा उनकै निवास जान लागेका हुन्।