सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मेडल जितेका सबै खेलाडीलाई सरकारले समान रूपमा प्रोत्साहन गरेको बताएका छन्।
बिहीबार सरकारको नियमित पत्रकार सम्मलेनमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री आफैं खेलप्रेमी भएकाले कोही पनि खेलाडीले मन दुखाउनु नपर्ने जनाए।
खेलाडीहरूले पैसाको लागि नभई देशको लागि खेलेको उनले बताए।
‘खेलाडीहरूले यो पदक मेरो देशको लागि भन्नु भएको थियो। यो त उहाँहरूले नै भन्नु भएको थियो नि’, उनले भने, ‘आफ्ना लागि भन्नु भएको छैन नि। उहाँहरूले देशकै लागि समर्पण गर्नुभएको हो।’
बिरामी प्रधानमन्त्रीले खेलाडीहरूलाई प्रोत्साहन गर्नको लागि भए पनि अढाई घण्टा खेल हेरेका उनले बताए।
‘खेलपछि प्रधानमन्त्रीले ठट्टा गर्नुहुँदै मलाई किन यहाँ थुनेर राखेको, त्यहाँ गएर गोल गरुँ-गरुँ जस्तो लागेको छ भनेर भन्नुभएको थियो,’ मन्त्री बाँस्कोटाले भने।
उनले २०१८ को विश्वकप फाइनलमा क्रोएसियाको राष्ट्रपति आफैं खेल हेर्न पुगेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले विमारी अवस्थामा पनि अढाई घण्टा सागको उद्घाटन समारोहको लाइभ हेरेको बताए।
उनले सागबाट नेपाली खेलाडीहरूले नेपाललाई दक्षिण एसियामा राइजिङ सुपर पावरको रूपमा स्थापित गरेको जनाए।
खेलाडीहरूले आफूले जितेको मेडल आफ्नो लागि नभएर देशको लागि समर्पित गरेको भन्दै मन्त्री बाँस्कोटाले सरकारले खेलाडीलाई निरुत्साहित नगरेको दाबी गरे।