फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिन प्रधानमन्त्री बन्ने भएकी छन्।
मरिनले आउँदो मंगलबार पदको शपथ लिनेछन्। हुलाक सेवाको आन्दोलनलाई राम्ररी नसम्हालेपछि ५७ वर्षीय पूर्वप्रधानमन्त्री आन्ती रिन्नेमाथि अविश्वासको मत पारित भएको थियो।
सान्ना जन्म सन् १९८५ नोबेम्भर १६ मा फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा भएको थियो। अहिले उनी टाम्परमा बस्दै आएकी छिन्।
मरिन आमा र आमाकी गर्लफ्रेन्डबाट जन्मिएकी हुन्। यद्यपी उनकी आमा को हुन् भन्ने कतै खुलाइएको छैन। न्यून आर्थिक अवस्थाका मरिनका आमाहरूले मरिनलाई भाडाको कोठा बिताएका थिए।
मरिनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी छिन्। मरिनको परिवारमा स्नातकोत्तर गर्ने उनी नै पहिलो हुन्। मरिनकी एक वर्षीया छोरी छन्।
मरिनले किशोरावस्थामा प्रधानमन्त्री त के राजनीतिमै लाग्छु भन्ने पनि सोचेकी थिइनन्। मरिनले आफ्नो राजनीतिक यात्रा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भएर २७ वर्ष हुँदा सुरू गरेकी थिइन्।
टाम्पर शहरमा सन् २०१२ मा स्थानीय परिषदको चुनावबाट राजनीतिमा प्रवेश गरेकी मरिनले आफ्नो राजनीतिक यात्राको छोटो समयमै फिनल्याण्डको प्रधानमन्त्री बन्ने मौका पाएकी हुन्।
सन् २०१० देखि २०१२ सम्म सामाजिक लोकतान्त्रिक पार्टीमा मरिन उपसभापति भएकी थिइन्। ३० वर्षको उमेर उनी फिनल्याण्डका सासंदका रुपमा निर्वाचित भएकी थिइन्।
सन् २०१४ मा उनी पार्टीको उपाध्यक्षमा निर्वाचित समेत भइन्। सांसद बनिसकेपछि उनले 'समानता, स्वतन्त्रता र शान्ति'लाई नारा बनाएकी थिइन्।
यही वर्ष उनी यातायात तथा सञ्चार मन्त्री बनेकी थिइन्। फिनल्यान्ड पाँच दलको गठबन्धनमा सरकार गठन हुन लागेको हो।
मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि हुनेछन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै रहेका छन्।
मरिन राजनीतिसँगै सामाजिक सञ्जालमा समेत सक्रिय छन्। धेरै कम प्रधानमन्त्रीमात्र इन्स्टाग्राम प्रयोग गर्छन्। त्यसमध्ये मरिन एक हुन्।
उनी आफ्ना प्रायस् सबै क्रियाकलापका तस्बिर इन्स्टाग्राममा राख्ने गर्छिन्।