सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी समितिको बैठक बोलाएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
नेकपाको स्थायी समितिको बैठक गत वर्ष पुसदेखि बस्न सकेको थिएन।
पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए। सचिवालय बैठक बस्नुअघि २७ गते नेकपा सचिवालय बेठक बस्नेछ।
यसैबीच आजको बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ।
यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिए पनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो।
बैठकले पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘उपनिर्वाचनको समीक्षात्मक रिपोर्ट बुझाउने समय पाँच दिन थप गरिएको छ,’ श्रेष्ठले पत्रकारहरूसँग भने।
रिपोर्ट प्राप्त भएपछि महासचिव विष्णु पौडेलले अर्को सचिवालय बैठकमा पेश गर्ने उनले बताए।