नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङसाङ सुकीले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्यायालय हेगमा हुने सुनुवाइका लागि प्रस्थान गरेकी छन्।
हेगमा म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि जातीय नरसंहार गरेको भन्दै मुद्दा परेको छ।
उक्त मुद्दाको सुनुवाइ आउँदो डिसेम्बर १० देखि १२ तारिखसम्म हुँदैछ।
राजधानी नेइपाइतको अन्तर्राष्ट्रिय विमानस्थलमा सुकी मुस्कुराउँदै पसेकी थिइन्। शनिबारमात्रै उनको समर्थनमा हजारौंले राजधानीमा प्रदर्शन गरेका थिए। हिजै उनको नाममा प्रार्थना सभा पनि गरिएको थियो।
सुनुवाइका लागि अरू थुप्रै अधिकारीहरू पनि हेग जाँदैछन्।
एक महिनाअघि ५७ वटा इस्लामिक देशको तर्फबाट अफ्रिकी मुलुक गाम्बियाले म्यानमारमा जातीय नरसंहार भएको भन्दै संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय मुद्दा हालेको थियो।
सन् २०१७ मा रोहिंग्यामाथि म्यानमारको सेनाले दमन गरेको थियो। संयुक्त राष्ट्र संघीय परीवेक्षकले उक्त घटना जातीय नरसंहार भएको प्रतिवेदन दिएका थिए। सुरक्षा परिषद्ले उक्त दमनबारे आइसिसीबाट अनुसन्धान गराउनु पर्ने उनीहरूको सुझाव थियो।