१७ महिनादेखि अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकाबाट आउने भटमास र बंगुरको मासुमा लगाएको कर हटाउने निर्णय गरेको छ।
चिनियाँ मन्त्रिपरिषद्ले केही अमेरिकी फर्महरूले कर घटाउन गरेको आग्रहअनुसार २५ प्रतिशतसम्म लाग्दै आएको कर हटाउने निर्णय गरेको त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ।
कर हटाइएको भटमास र बंगुरको मासुको मात्रा कति हो भन्नेबारे केही खुलाइएको छैन।
चीनले सन् २०१८ को जुलाईदेखि अमेरिकाबाट आयात हुने भटमास र बंगुरको मासुमा २५ प्रतिशतसम्म कर लगाउँदै आएको थियो।
बेङजिङ र वासिङ्टनबीच डेढ वर्ष लामो व्यापार युद्धको पहिलो चरण अन्त्य गर्ने वा अन्तरिम सम्झौता गर्नेबारे वार्ताहरू भइरहेका बेला चीनको यस्तो निर्णय आएको हो। व्यापार युद्द मत्थर बनाउन दुबै देशले एकअर्काका सामानमा लगाएको कर हटाउनु पर्छ।
चीनले बंगुरको मासुमा कर हटाउनुका दुईटा कारण हुन सक्ने विश्लेषकहरूले बताएका छन्।
पहिलो, अफ्रिकन स्वाइनका कारण धेरै बंगुरहरू मार्नु परेका अहिले संसारभरि नै बंगुरको मासुको वितरण प्रणाली प्रभावित भएको छ। चीनमा बंगुरको मासु धेरै नै खपत हुन्छ।
यसको अर्को कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार वार्तामा नरम भएका पनि हुन सक्छन्। किनकी अमेरिकामा भटमास र बंगुर उत्पादन हुने क्षेत्रका ट्रम्पको राम्रो पकड छ। चर्को करको मारमा परेका त्यहाँका कृषकलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा पनि आफ्नो पक्षमा पार्न ट्रम्पले नरम नीति लिएका हुन सक्छन्।
ट्रम्पका लागि ती कृषकको महत्व यति छ कि केही समयअघि उनले संसदलाई छलेर २० अर्ब डलर छुट्याएका थिए।