१० दिन अस्पताल बसेर प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।
बिहीबार दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका हुन्।
अस्पतालबाट निस्किँदा प्रधानमन्त्री ओलीले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रियामात्र दिए। ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु,’ उनले भने।
डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेटेकी छन्। प्रेस सल्लाहकार थापाका अनुसार राष्ट्रपति भण्डारीले केहीबेरअघि प्रधानमन्त्रीलाई भेटेकी हुन्।
गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।