प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन्।
मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो।
दुई दिनपछि प्रधानमन्त्री ओली हिँड्न सक्ने भएका हुन्।
प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आज जाउलो खुवाइनेछ।
यसअघि बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो।
‘उहाँ मुभ गर्न थाल्नुभएको छ। अब खाना पनि बढाउँदै लैजान्छौं,’ ती चिकित्सकले भने।
बिहान १० बजे विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार जारी रहेको बताएको छ।
प्रधानमन्त्रीलाई बिहीबार पत्नी राधिका शाक्य र परिवारका सदस्यहरूमात्र भेट्ने छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्रीका शुभेच्छुक बुधबार पनि अस्पताल पुगेका थिए। तर उनीहरूलाई प्रधानमन्त्रीसँग भेट गराइएको थिएन।
यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ। एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन्।
सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस (एपेन्डिक्स सुन्निने) र पेरिटोनाइटिस (पेटमा संक्रमण) भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो।
बुधबार बिहानसम्म ओलीलाई भेन्टिलेटरमा राखिएको थियो।
‘उहाँलाई कम्तीमा एक साता अस्पताल बस्न सुझाव चिकित्सले सुझाव दिएका छन्,’ स्रोतले भन्यो।
यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पताल भएको थियो। आइतबारमात्र उनको चौथो पटक डायलासिस भएको थियो।